© २०२३
रोटरी डिष्ट्रिकमा पहिलो पटक रोट्याक्टर संगोष्ठी शनिबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस क्षेत्रका २० वटा रोट्याक्ट क्लबका १ सय ९० जना रोट्याक्टरहरुको सहभागिता रहेको थियो । रोटरी क्लब अफ बुटवलको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल, रोट्याक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस र रोट्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको सह–आयोजनामा भएको उक्त कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर चिन्तामणि भट्टराईले युवाहरु समाजप्रति उत्तरदायी भई मानवसेवामा समर्पित हुनु पर्ने बताए ।
रोटरी अभियानले युवाहरुलाई विकृतिमा जान नदिन ठूलो भूमिका निर्वाह गरेको बताउँदै उनले युवाहरु सामाजिक उत्तरदायित्व बहन गर्ने भविष्यका कर्णधार भएको बताए ।
कार्यक्रममा क्लबका पुर्व गभर्नर वासुदेव गोल्यानले युवाहरुले नौलोखालको परियोजनाको प्रस्ताव लिएमा आर आईबाट राम्रो सहयोग मिल्ने बताए । निवर्तमान गभर्नर संजय गिरीले नेतृत्व विकास सम्बन्धमा सहजीकरण गर्दै समाजसेवाबाटै नेतृत्व गर्ने नेता बन्न युवाहरुलाई सुझाव दिए । हिटलर र महात्मा गान्धीको उदाहरण दिँदै उनले महात्मा गान्धी जस्तो नेता बन्न सुझाव दिए ।
डिष्ट्रिक पुर्व गभर्नर तिर्थमान शाक्यले सदाचारी र इमान्दारी भई काम गर्न युवाहरुलाई सुझाव दिए । रोटरी इन्टरनेशनलका गभर्नर नोमिनी राजिव पोखरेलले रोटरीमा रोट्याक्टरहरुको अवसर नै अवसर रहेको बताउँदै सबै रोट्याक्टरहरुलाई रोटरीयन बनाएर रोटरी अभियानलाई सार्थकता तुल्याउन सकिने बताए ।
उनले विश्वभर साढे २ लाख रोट्याक्टर रहेको जानकारी दिँदै रोटरी अभियानबाटै युवा सशक्तिकरण गर्न सकिने बताए । पब्लिक स्पिकिङ र एमसिको बारेमा गोपाल प्रसाद अधिकारीले तालिम दिएका थिए । सहभागी आस्था पाण्डे र विनोद सुवेदीले कार्यक्रम निकै प्रभावकारी भएको बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले युवाहरुको जिम्मेवारी बढेको बताउँदै उनीहरुलाई सहि मार्गमा लैजानु रोटरीयनहरुको महत्वपुर्ण भूमिका हुने बताए । कार्यक्रममा क्लवका सचिव दया भण्डारी, रोटरीयन करुण खनाल कार्यक्रम संयोजक लक्ष्मण खरेल लगायतले बोलेका थिए ।