© २०२३
३२ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि फर्साटिकर युथ क्लब र लिस्नु युवा क्लबका बीचमा भिडन्त हुने भएको छ । झरना स्पोट्र्स क्लबको आयोजनामा बिहीबार भएको दोस्रो सेमीफाईनलमा फूलबारी गाईज बुटवललाई ३–२ गोलले पराजित गर्दै उपाधिका लागि दाबेदारी पेश गरेको हो ।
पहिलो सेमीफाईनल खेलमा पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवललाई ५–१ गोलले पराजित गर्दै लिस्नु फाईनलमा स्थान पक्का गरिसकेको छ । खेलको दोस्रो मिनेटमा फर्साटिकरका सुरज हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १० औं मिनेटमा फुलबारीका सरोज क्षेत्रीले बराबरी गोल गरे । लक्ष्मण रुचालको क्रसमा क्षेत्रीले गोल फर्काका थिए । खेलको १९ औं मिनेटमा विदेशी खेलाडी आब्बाको गोलमार्फत फर्साटिकर खेलमा फर्कियो । खेलको ३२ औं मिनेटमा लक्ष्मण रुचालले फूलबारीका लागि बराबरी गोल फर्काए । फूलबारीका सुभाष गुरुङ्गलाई डिबक्सबाहिर फर्साटिकरका विष्णु गुरुङ्गले लडाएपछि पाएको फ्रिकिकलाई रुचालले गोलमा परिणत गरेका थिए । फर्साटिकरको लागि खेलको ४७ औं मिनेटमा सरोज दाहालले विजयी गोल गरेका थिए । खेलमा फूलबारी गाईजका लक्ष्मण रुचाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगिताको फाईनल असोज २७ गते शनिबार हुने खेल संयोजक नगेन्द्र छन्त्यालले बताए ।