© २०२३
भारतबाट आयतित अधिकांश खाद्यन्नमा लेबल नराखिएको पाईएको छ । लेबल नै नराखिएको सामग्री बिक्री गरि उपभोक्ता ठगी गर्दै आएका ब्यापारीहरूलाई जिल्ला अनुगमन समितिले नसिहत दिई छाडेको छ ।
जिल्ला अनुगमन समिति रूपन्देहीले आईतबार भैरहवामा गरेको अनुगमनका क्रममा बिभिन्न भारतीय ब्राण्डका खाद्यन्नमा उपभोग्य बस्तुबारे जानकारी दिने कुनै पनि सूचना नराखेको पाइयो । अनुगमन समितिले यस्तो बस्तु लेबल नराखेको बस्तु भेटिएका ब्यापारीलाई कार्यवाही गर्नुको सट्टा त्यो मौज्दात सकाएर अब उपरान्त लेबल राखेको सामग्री मात्र बिक्रि गर्न निर्देशन दिएको छ ।
अनुगमन समिति संयोजक तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अगुवाईमा गएको अनुगमन समितिले गल्लामण्डीमा रहेको नयाँ सौभाग्य स्टोर्स तथा के एण्ड डि ट्रेडर्समा अनुगमन गरेको थियो । अनुगमनको क्रममा भारतबाट आयात गरिएको चना तथा चामल लेबल नै नराखी बिक्रि गरिएको समितिले फेला पारेको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रूपन्देहीका प्रमुख वेद प्रसाद उपाध्यायका अनुसार लेबल नै नराखी बिक्रि वितरण गर्नुलाई ठगिको सूचिमा राखिन्छ । यस अघि सोही क्षेत्रमा केन्द्रिय अनुगमन समितिले अनुगमन गर्दा पसल सिल गरिएको थियो । अहिले पनि पसल धनिलाई कार्यवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पत्र लेखी पठाएको उपाध्यायले जानकारी दिए ।
नया सौभाग्य स्टोर्समा उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम खुद्रा मूल्य केही पनि उल्लेख नगरिएको टिपटप र डबल राजहंस ब्राण्डको चना बिक्रिको लागी राखिएको थियो । बिशेष गरि पहाडी जिल्लाहरूमा पठाईने यी खाद्यन्नले केही पनि उल्लेख गरेका छैनन । यसै गरि के एण्ड डी टे«डर्सले लेबल नभएको हाथी ब्राण्डको चामल र बोरामा केही पनि उल्लेख नभएको चामल बिक्रि गरेको पाईएको छ । यति मात्र हैन गोदाममा राखेको खाद्यन्नहरू भिजेको र बाहिर सुकाउन राखेको अवस्थामा बाख्राले खादै गरेको अवश्थामा भेटिएको थियो ।
भारतबाट ल्याईएका यी चामल ब्यापारीहरूले आफ्नो ब्राण्डको नाम दिई बिक्रि बितरण गर्ने गरेको पनि श्रोतको भनाई छ । सस्तोमा आयत गरि नेपाल ल्याई आफ्नो ब्राण्डको नाम दिई महङ्गो मूल्यमा यी खाद्यन्नहरू बिक्रि हुने गरेको ब्यापारीकै भनाई छ ।
अनुगमन गरिएका पसल मात्र हैन गल्लामण्डीमा रहेका अधिकांश पसलमा यस्ता लेबल नै नराखी चर्को मूल्यमा समान बिक्रि गर्ने र उपभोक्ता ठगी गर्ने गुनासो आउने गरेको छ । बिशेष गरि भारतीय बाजरबाट ल्याएको चामललाई बिभिन्न उद्योगहरूले आफ्नो बोरामा प्याकिङ्ग गर्ने र बजारमा चर्को मूल्यमा बिक्रि गर्ने गरेको भए पनि यस बिषयमा अनुगमन समिति पनि मौन रहेको छ ।
पर्वहरूको मौकामा बजारमा कालोबजारी बढ्न सक्ने सम्भावनालाई हेर्दै अनुगमन समितिले स्थानिय पसलहरूमा अनुगमन गरेको थियो । बिशेष गरि चिनिलाई लक्षित गरिएको अनुगमनमा पसलै पिच्छे चिनिको मूल्य फरक पाईएको अनुगमन समिति संयोजक नारायण पाण्डेले बताए ।à