© २०२३
बुटवलमा असोज १९ गतेदेखि संचालन हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा दशैं सस्तो बजार लगाइने भएको छ । उपभोक्ताहरूलाई लक्षित गरी उद्योग व्यापार संघ बुटवलको आफ्नै व्यवस्थापनमा दशैं बजार संचालन गर्न लागिएको संघका महसचिव तथा मुल आयोजक समितिका सदस्य सचिव केशव श्रीसले जानकारी दिए ।
साल्ट ट्रेडिङको चिनी तथा नुन, दुग्ध जन्य पदार्थ, खाद्यान्न, उच्च पहाडी क्षेत्रमा उत्पादन भएका फापर, जुम्लाको आलु, मार्सी चामल, कालो चामल, कदकनाथ जातको कालो कुखुराको मासु तथा अण्डा, मार्फाको स्याउ दशंै बजारमा राखिने उनले बताए । नजिकिँदै गरेको दशैंको लागि सामान खरिद गर्न अन्यत्र धाउनु पर्ने बाध्यता हटाउन प्रदर्शनी स्थलमै दशै बजार संचालन गर्ने निर्णय भएको मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष प्रविण पाठकले जानकारी दिए ।
परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागीएको प्रदर्शनीमा विभिन्न ८ वटा प्याभिलियन राखिएको छ । ति प्याभिलिन मध्ये एउटा प्याभिलियनमा दशैं बजार स्पेशल बनाउन खोजिएको हो । प्रदर्शनीमा ४ सय भन्दा वढि स्टल रहने छन् । आवश्यक स्टलहरू दर्ता भइ सकेकाले बुकिड कार्य करिब करिव सकिएको आयोजकले बताएका छन् ।
संघका पुर्व अध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले प्रदर्शनीलाई विगतको भन्दा बढि आकर्षक बनाउन धरहरा, रानी पोखरी स्वरूपको प्रवेशद्वार लोपोन्मुख चर्खे (रोटे) पिङ र लिङगे पिङ राखिएको छ । चिल्ड्रेन पार्क सहित फन पार्क मेलाको आकर्षणका रूपमा रहेका छन् । मेलाभित्र प्रवेश गर्दा दशैं तिहार आएको झल्को दिने गरी संरचनाहरू तयार गरिएको मेला प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए । तयारी स्वरूप सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसंग भेटघाट तथा अन्तरक्रियालाई तिव्रता दिइएको छ । बुधवार वुटवल उपमहानगरपालिका अन्तर्गतका टोल विकास संस्थाका पदाधीकारीहरू संग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागी टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरूले बुटवलको प्रदर्शनी सबैको प्रदर्शनी भएको बताउँदै तल्लो तह देखी छलफल गरिनु राम्रो भएको बताए । कार्यक्रममा मुल आयोजक समितिका संयोजक प्रविण पाठक, संरक्षकद्वय खिमनारायण पराजुली, खेम श्रीस लगायतले बुटवलको प्रदर्शनीले बुटवलवासीको आर्थिक विकासमा टेवा पुग्ने भएकाले सफलतापुर्वक सम्पन्न गर्नु बुटवलवासीको दायित्व हुने बताए । त्यसैगरी संघमा आवद्ध उद्योगी व्यवसायीहरूसंग पनि छलफल भएको छ ।