© २०२३
‘रुपन्देहीको सैनामैना र कञ्चन गाउँपालिकामा एक बर्षको अवधीमा ३७ जनाले आत्महत्या गरेका छन ।’ केही दिनअघि बुटवलको एक दैनिक समाचारपत्रमा प्रकाशित यो समाचार पढ्ने सवैलाई गंभीर वनाएको हुनुपर्दछ । दुई पालिकामा यतिधेरै संख्यामा आत्महत्या हुनु सामान्य होइन । पछिल्लोसमय आत्महत्याका घटना बढ्दै गएका छन । यसरी आत्महत्याका घटना बढ्दै गएपनि यसको कारण खोजी गर्नेतर्फ भने सम्वन्धित निकायको ध्यानाकर्षण नहुनु चिन्ताको विषय हो । अहिलेपनि आत्महत्यालाई समाजले पाप, अपराध वा व्यक्तिको मानसिक कमजोरीका रूपमा हेर्ने गरेको छ । परन्तु, यो मनोसामाजिक समस्या र परिस्थितिको उपज हो । संसारमा बर्षेनी दस लाख जनाभन्दा बढीले आफ्नो प्राण लिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । नेपाल प्रहरीका अनुसार नेपालमा यस आर्थिक वर्षको आठ महिनामा चार हजार ४८३ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष यति नै अवधिमा तीन हजार ५३४ जनाले आफ्नो ज्यान लिएका थिए । अर्थात गत वर्षका तुलनामा आत्महत्या गर्नेको संख्या यस वर्ष एक चौथाईले बढेको देखिन्छ । अर्कोतर्फ आत्महत्याका घटना लुकाउने गरिएका कारणपनि कतिपय यस्ता घटना बाहिर समेत आउँदैनन् । सामाजिक बर्जना र सजायको भयसमेतका कारण मृतकको परिवारले आत्महत्याका घटना सार्वजनिक गर्नसमेत चाहँदैनन् । यसैले आत्महत्याका घटना प्रहरीको अभिलेखमा दर्ता भएको भन्दा धेरै र अवस्था भयावह भएको अनुमान सहजै लगायन सकिन्छ ।
आत्महत्यालाई नेपाली समाज र राज्यले अझैपनि गम्भीरतापूर्वक लिएको भने देखिँदैन । व्यक्तिले आफ्नो जीवन निरर्थक भएको ठहर गरेपछि आत्महत्याको बाटो रोजेको देखिन्छ । आखिर सबै प्राणीका लागि सबैभन्दा बढी प्यारो लाग्ने जीवन आफै त्याग्न किन प्रयास हुन्छ ? यसको कारणको खोजी हुनुपर्दछ । आत्महत्या उन्मुख व्यक्तिमा निराशा, अवसाद, एकान्तप्रियताजस्ता संकेत देखिन थाल्नेबित्तिकै परिवारका सदस्यहरू चनाखो हुने हो भने धेरै हदसम्म यस्ता घटना रोक्न सकिन्छ । यस विषयमा नेपाली समाजको ध्यान जानु जरुरी छ । अर्कोतर्फ बेलैमा सही हस्तक्षेप हुनसके आत्महत्याका घटना धेरै हदसम्म रोक्न सकिने पुष्टि संसारका विभिन्न देशमा गरिएका अध्ययनबाट भइसकेको छ । यस्ता कार्यक्रममा मनोसामाजिक विमर्शदेखि व्यक्तिलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउनेसम्मका उपायहरू पर्छन् । नेपालमा भने आत्महत्यालाई जनस्वास्थ्यको विषयका रूपमा भन्दा मनोसामाजिक समस्या र दण्डनीय अपराधकै रूपमा हेर्ने गरिएको छ । सम्भवतः यही कारणले आत्महत्याको तथ्यांक पनि प्रहरीले राख्ने गरेको हो । पछिल्लोसमय नेपालमा आत्महत्याको संख्या बढ्दै गएको छ र यसले गंभीर चिन्ता थपेको छ ।
आत्महत्यालाई कायरता मान्ने सामाजिक मानसिकतामा सुधार एकातिर आवश्यक छ भने अर्कोतिर यसलाई जनस्वास्थ्यको विषय मानेर सरकारले कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ । आगामी दिनमा आत्महत्याका घटना नियन्त्रणमा चेतनामूलक कार्यक्रम जरुरी छ । आत्महत्याका घटना नियन्त्रणका लागि आवश्यक रणनीति तर्जुमा गर्नुपनि जरुरी छ । आत्महत्यालाई राज्यले अपराधका रूपमा होइन स्वास्थ्य समस्याका रूपमा लिनुपर्छ । यस्तै नेपालमा आत्महत्याका कारण र असरजस्ता विषयमा क्षेत्रगत तथा विधागत अध्ययन अनुसन्धान जरूरी देखिन्छ । खासगरी रुपन्देहीका दुई पालिकामा बढेको आत्महत्याका घटना नियन्त्रणमा आम चासो हुनु जरुरी छ । प्रहरीले त्यहाँ आत्महत्या बढेपछि नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको छ । आगामी दिनमा आत्महत्याको कारण खोजी हुनु जरुरी छ । आखिर यतिठूलो संख्यामा मानिसहरु जीवनदेखि बिरक्त हुन बाध्य किन भैरहेका छन ? यसको निराकरणको उपाय के छ ? यी विषयमा हामी सवैको ध्यान पुग्नु जरुरी छ । अर्कोतर्फ मनोसामाजिक परामर्श र अभियानका कार्यक्रम गरिनु आवश्यक छ ।