© २०२३
काभ्रेपलाञ्चोक र जाजरकोटमा एक दिनको अन्तरालमा भएका दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । कैयौं घाईते भएका छन । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । एक दिनको फरकमा भएका यी विभत्स दुर्घटनाको खबरले आम नेपालीजनलाई दुःखी बनाएको छ । सरकारले दुर्घटनामा परि गंभीर घाईतेको निशुल्क उपचारको व्यवस्था मिलाओस् । साथै मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था होस् । घाईतेहरुको अवस्था गंभीर भएकोले सरकारले उपचारमा कुनैपनि कञ्जुस्याई नगरोस् । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारका तर्फबाट दुवै दुर्घटनाका मृतकहरुप्रति समवेदना प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सरकारले अव मृतक परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गरोस् । नेपालमा पछिल्लोसमय सडक दुर्घटनाको कहालीलाग्दो अवस्था देखिएको छ । सडकको कमजोर अवस्था, चालक र यातायातको लापरवाही धेरै देखिएको छ । तीव्र गति लगायतका कारण नेपालमा दैनिकजसो सवारी दुर्घटना हुन्छन् । सहरी क्षेत्रमा भन्दा पनि पहाडी र ग्रामीण क्षेत्रमा जाने सवारीसाधन दुर्घटनाको बढी जोखिममा छन । ती स्थानमा चल्ने सवारी साधन सीमित हुने भएकाले यात्रुलाई भीडमा कोचिएर जानुको विकल्प हुँदैन । क्षमताभन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना बढी भएका छन् । दैनिक यात्रु बोक्नुपर्ने र सवारीको मर्मत र चेकजाँच पनि समयमा नहुने हुँदा दुर्घटना अत्यधिक हुने गरेको छ । यो क्रम बर्सेनि दोहोरिएको छ । मुख्य राजमार्गमा भन्दा पनि पहाडी साना सडक र ग्रामीण कच्ची सडकमा यात्रुवाहक बस र जिप दुर्घटना उच्च छ । यस्ता दुर्घटनामा ज्यान गुमाउने धेरै हुन्छन् । भीरको बाटो र क्षमताभन्दा बढी यात्रु दुर्घटनाको प्रमुख कारण बन्ने गरेको छ । वर्षौंदेखि सुधार नभएका सडकमा जेनतेन सवारी दौडिनुपर्ने बाध्यता छ । जसका कारण दुर्घटनाको जोखिम निम्तिने गरेको छ ।
हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक १० जनाको मृत्यु हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययन अनुसार नेपालमा वार्षिक सात हजारजनाको सडक दुर्घटनाबाट ज्यान जान्छ । चाडपर्वको समयमा त यो संख्या अझै बढी हुन्छ । ट्राफिक प्रहरीले बेला बेलामा दुर्घटना रोक्न यही समयमा विभिन्न अभियान चलाउने गरेको छ तर त्यो प्रभावकारी भएको देखिँदैन । थोरै सवारीमा धेरैले यात्रा गर्नुपर्ने बाध्यताकै कारण यात्रु र सवारी चालकलाई दिइने सचेतना व्यर्थ बन्ने गरेको छ । सडक बनेपछि मर्मत कर्मै गर्ने नेपालको बर्षौदेखिको परम्परा हो । अर्कोतर्फ सडकमा बनेका खाल्डा पनि चालक र यात्रुले पुर्दै गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता पहाडी क्षेत्रमा अझै छ । त्यसले पनि दुर्घटना निम्त्याउन सहयोगी भूमिका खेलेको अनुसन्धानले देखाएको छ । सुरक्षित सडक यात्राको अधिकार यात्रुको अधिकार हो । नागरिकलाई सुरक्षित यात्राको व्यवस्थापन गर्नु सरकारको पनि दायित्व हो । त्यो दायित्व निर्वाहका क्रममा सडकको अवस्थाका विषयमा सरकारले चासो दिनु जरुरी छ । सवारी साधनको अवस्थाका विषयमा पनि राज्यले अनुगमन र निरिक्षण गर्नैपर्दछ । अर्कोतर्फ सवारीसाधन सञ्चालकले पनि कमाउनेमात्रै भन्दा पनि यात्रुको सुरक्षामा ध्यान दिनुपर्छ । सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन र यात्रु संख्या तय गर्ने हो भने दुर्घटना न्यूनिकरणमा सहयोग पुग्न सक्छ । आगामी दिनमा सडक दुर्घटना कसैका लागि दशा नबनोस् । जाजरकोट र काभ्रेपलाञ्चोक दुर्घटनामा २९ जनाको निधनले राष्ट्रिय शोकको अवस्था निम्तिएको छ । अवका दिनमा दुर्घटनाको नियती कुनैपनि नेपालीले भोग्नु नपरोस् ।