© २०२३
बुटवल, २० मंसिर ।
चिकित्सकहरु भन्छन्, ‘सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्ने, गहु्रगो भारी बोक्ने, खानपिनमा ख्याल नपुयार्उने कारणले पाठेघर खस्ने समस्या धेरै हुन्छ । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्ने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले धेरै महिलाको पाठेघर खस्छ । जसलाई ‘आङ खस्ने’ रोगका नामले चिनिन्छ ।’
पाठेघर खस्ने समस्या भएका रुपन्देहीका महिला धेरै छन् । प्रजनन स्वास्थ्यको अभावमा कतिबेला के गर्नुपर्छ भन्ने जानकारी नहुदा पनि महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समयमा गर्भनिरोधक औषधिको अनियमित र मनपरी प्रयोगले पनि पाठेघर खस्ने समस्या देखाएको उनको भनाई छ ।
अझैपनि पाठेघर खस्नुलाई लाजको विषय मानिन्छ । धेरै परिवारले लाजकै कारण उपचारमा सहयोग गर्दैनन् । घरपरिवारले सहयोग नगर्दा उपचारमा लाग्नेको संख्या भने निकै कम छ । त्यसमध्येकी हुन्, रुपन्देहीको रोहिणी गाउँपालिका पोखरभिण्डीकी ओमकला हरिजन । उनले पाठेघर खसेको समस्या ३७ वर्षसम्म लुकाइन् । ओमकलाको १२ वर्षमा विहे भयो । १४ वर्षमै आमा बनिन् । ३१ वर्षकी हु“दा ८ सन्तान जन्माएकी उनको त्यसबीचमै पाठेघर खसेको थियो । सुरुवातमा हिंड्डुल गर्न समस्या भयो । त्यसपछि सहवासमा पनि गाह्रो हुनथाल्यो । क्रमशः महिनाबारी बाहेकको समयमा पनि रगत चुहिने र डल्लो नै बाहिर देखिन थाल्यो । रोगबारे पतिलाई बताइन् । पाठेघर खसेकी उनलाई पतिले उपचार गरेनन् । सट्टामा अर्को बिहे गरे । कहिले माइत कहिले आफन्तकहा“ बसेर निमेक गरेर त्यतिधेरै छोराछोरी हुर्काइन् । छोराछोरी हुर्कदै गए । तर, कसैलाई रोगबारे बताउन सकिनन् । छोराछोरीले उपचारमा जाउभन्दा पनि गइनन् । गन्हाउने पानी बगेर नजिक मान्छे जानै नसक्ने भएपछि बुहारीले अघिल्लो जेठमा धकधई प्राथमिक स्वास्थ्य चौकीमा लगिन् । स्वास्थ्य चौकीले सामान्य जा“चपछि भैरहवाको भीम अस्पतालमा पठाइदियो । उनमा मधुमेह र अल्सरको समेत समस्या देखियो । तिनको प्रारम्भिक उपचारपछि स्त्री तथा प्रसुति रोग विशेषज्ञ शकुन्तलाले शल्यक्रिया गरेर पाठेघर फालिन् । ६८ वर्षीया ओमकला अहिले सामान्य छिन् । तर उनी र उनको परिवार पाठेघर खसेको र उपचार गरेकोबारे कसैलाई बताउँदैनन् । ‘महिलाको आङ खस्नुलाई अशुभ मान्छन् । आमाको आङ खसेको भए छोरी नातिनीको पनि खस्न सक्छ भनेर बवहे गराउन गाह्रो हुन्छ,’ बुहारी रिंकीले भनिन्, ‘त्यसैले यो रोगबारे अरुलाई बताउन सकिदैन ।’
चिकित्सकहरुका अनुसार पाठेघर खसेका बिरामीका चार श्रेणी हुन्छन् । पहिलो र दोस्रो श्रेणीको भए रिङ पेसरी लगाउने काम हुन्छ । तेस्रो र चौथोमा भने शल्यक्रिया गरिन्छ । पाठेघर खसेका महिलालाई उपचारमा सहजताका लागि सरकारले अस्पतालमा तोकेर निःशुल्क शल्यक्रिया र उपचारको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशमा शल्यक्रिया गर्ने ६ अस्पताल छन् । तिनमा गत आर्थिक वर्ष २०७७÷ ०७८ मा ८१ जना पाठेघर खसेका महिलाको शल्यक्रिया भएको छ । सबैभन्दा धेरै शल्यक्रिया लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३४ वटा भएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रजनन स्वास्थ्य फोकल पर्सन कौशलराज भण्डारीले बताए । शल्यक्रिया गर्ने धेरै महिला ६० वर्षमाथिका छन् । ‘लोकलाज र परिवारको असहयोगले आमाहरु उपचारमा नआएरै समस्या हो,’ उनले भने, ‘नत्र पाठेघर खसेको उपचार जटिल छैन । निःशुल्क उपचार हुन्छ । शल्यक्रिया नै गरेपनि २४ घण्टा मात्रै अस्पताल बसे पुग्छ ।’
तराइका पाका महिला मात्र होइन, उमेर छँदै पाठेघर खस्ने पनि धेरै छन् । तर, पाठेघर खस्नुलाई महिलाको कमजोरी ठान्दै जीवनभर साथ दिने कसम खाएका पतिले बेवास्ता गर्छन् । यसले भरसक उनीहरु रोग लुकाएर बस्छन् । रोग लुकाउँदा एकातिर शारीरिक पीडा भोग्छन् अर्कोतिर मानसिक । त्यसको उदाहरण हुन्, मायादेवी गाउ“पालिका मधुवनकी ३३ वर्षे विन्दावती कहांर । ४ सन्तानकी आमाले कुनैबेला सुत्केरी हुँदा पनि कामबाट आराम र मिठोमसिनो खान पाइनन् । त्यसैबेला पतिले सहवास पनि गरिरहे । दोस्रो सन्तान जन्माएपछि नै उनलाई पाठेघर अप्ठेरो हुन थाल्यो । यही कारण होला, चौथो पटकको सुत्केरीका बेला उनको पाठेघर बाहिरै निस्क्यो । पाठेघर खसेसंगै सहवास गर्न गाह्रो हुन थाल्यो । यही निहुमा पतिले बारम्बार यातना दिन थाले । ‘रोग सहनु भन्दा यातना खप्नु बढी पीडा भयो,’ विन्दावतीले भनिन्, ‘म विरामी भएको भन्दा पतिलाई सहवास गर्न नपाएको चिन्ता थियो । त्यसैले घरपरिवारलाई पनि भनिन ।’ १० वर्ष रोग सहेर बसेकी उनी गत वर्ष छिमेकीको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल आइन् । बैशाख पहिलो साता अस्पतालमा उनको पाठेघरको शल्यक्रिया भयो । ‘दुई दिन अस्पताल बसें, सबै उपचार भयो । अहिले किन मैले यति वर्ष रोग सहेकी हु“ला जस्तो लाग्छ’– विन्दावतीले भनिन् । चिकित्सकहरुका अनुसार पाठेघर खसेको शल्यक्रिया गरेपछि महिलाहरु आमा बन्न सक्दैनन् । बच्चा जन्माउन नसक्ने भएकाले धेरै महिला लोग्नेले अर्को बिहे वा सम्बन्धविच्छेद गर्ने डरले पनि रोग लुकाउँछन् । उपचार वा शल्यक्रिया गर्दैनन्् ।
रोग लुकाउने भएकाले पाठेघर खस्ने समस्या भएका महिला कति छन् त्यसको तथ्यांक कसैसित छैन । तथ्यांक पत्ता नलागेकै कारण पाठेघर विरुद्धको चेतनामूलक कार्यक्रम गर्न पनि समस्या छ । पछिल्लो ५ वर्षयता बिरामी महिलाको पहिचानका लागि क्षेत्र क्षेत्रमा जनचेतनामूलक तथा पाठेघर उपचार शिविर राख्ने गरिएको छ । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रजनन्, स्वास्थ्य तथा पाठेघर उपचार शिविर भए । स्वास्थ्य कार्यालयहरुमा गरिएका शिविरबाट करिब १ हजार २ सय पाठेघर खसेका महिलाको पहिचान भएको थियो ।
स्वास्थ्य निर्देशक डा. विनोदराज गिरीका अनुसार स्वास्थ्य कार्यालयको आयोजनामा हुने शिविरमा पाठेघर खस्ने बिरामीको पहिचान गरिन्छ । उनीहरुको सामान्य भए औषधि दिइन्छ । पहिलो र दोस्रो श्रेणीका विरामीलाई रिङ पेसरी लगाउने काम पनि तिनै शिविरमा गरिन्छ । रिङ पेसरी लगाएर नहुने भए शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालमा रेफर गरिने स्वास्थ्य निर्देशक डा. विनोदराज गिरीले बताए ।