© २०२३
नेपालमा एउटा राष्ट्रप्रेम गीतले निकै चर्चा पाउँदै आएको छ । रेलको बाटो आउँदै छ रे तिमी वस्ने सहरैमा, हुम्ला कैले मोटर आउला पख्र्याको छु रहरैमा …. । यो गीतले भनेझै नेपालको दुर्गम पहाडी बस्तीमा मोटर देख्ने सपना अहिलेपनि त्यहाँका स्थानीय जनताका लागि रहरको विषय बन्ने गरेको छ । हुम्लाका जनतालाई मोटर देख्ने रहर जस्तै सहरमा वस्नेहरुका लागि रेल देख्ने र चढ्ने सपना कहिले पूरा हुने हो ? भन्नै नसकिने अवस्था छ । पूर्व पश्चिम रेलमार्गको कुरा कहिल्यै पूरा नहुने सपना बन्ने त होइन भन्ने जनताको आशंका छ । नेपालमा पहिलोचोटी सन् १९२७ मा रक्सौलदेखि अमलेखगञ्जसम्म करिब ३९ किमीमा रेल सेवा सञ्चालनमा आएको थियो । नेपालमा पहिलोपटक रेल सञ्चालन भएको ९५ बर्ष पुग्दैछ । तर, रेल सञ्चालनको यति लामो समय हुँदा पनि पूर्व पश्चिम रेलमार्ग काकाकूल सपना जस्तै छ । भारत र चीनमा भएको रेल सेवाको द्रुत विकास देखेका नेपालीका लागि आफ्नो देशमै रेल चढ्ने रहर कहिले पूरा हुने हो ? जवाफ अनुत्तरित छ ।
छिमेकी देश भारतमा एक लाख २१ हजार चार सय सात किलोमिटरको रेल सञ्जाल छ । उत्तरी छिमेकी चीनमा पनि एक लाख २१ हजार किमिको रेल नेटवर्क तयार भइसकेको छ । दुवै छिमेकी आफ्नो रेलमार्गलाई अझ विस्तार गर्ने होडमा छन् । भारत नेपालको राजधानी काठमाडौंसम्म आफ्नो सञ्जाल विस्तार गर्न चाहन्छ । र, चीन काठमाडौं हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म आफ्नै रेलमा पुग्न चाहन्छ । उता चिनले पनि केरुङहुँदै लुम्विनीसम्म रेल सञ्चालनको लागि योजाना बनाउँदैछ । ती दुवै छिमेकी देशले नेपालमा रेल सञ्चालनको खाका बनाईरहँदा नेपाल आफैले बनाउने भनेको पूर्व पश्चिम रेल अन्यौलमा छ । यातायात भनेको विकासको मेरुदण्ड हो । कुनैपनि देशको समृद्धिको मापन गर्ने महत्वपूर्ण आधार यातायात क्षेत्र नै हो । त्यसो त नेपालमा स्तरीय सडकको निर्माण हुन नसकेपनि नेपालमा एक लाख किमि सडक सञ्जाल निर्माण भइसकेको छ । तर, हालको सडक सञ्जालले नेपालको यातायातको आधारभूत आवश्यकता पूरा भए पनि यो समृद्ध नेपाल निर्माणमा पर्याप्त छैन । त्यसैले त दुर्गम पहाडी वस्तीका नेपाली जनता अझैपनि मोटर देख्ने सपनामा रमाएका छन । सदरमुकामसम्म मोटर नपुग्दा दुर्गमभन्दा अति दुर्गम बस्तीमा मोटर कहिले पुग्ने र त्यहाँका जनताले कहिले मोटर चढ्ने ? नेपालको यही विकासको कछुवा रफ्तारले अझै कति हो कति पुस्ता त्यो पहुँचबाट टाढै रहनेछ ।
भारत र चीनले संसारकै ठूलो रेल सञ्जालमार्फत विकासको फड्को मारेका हुन् । नेपालमा पनि विकासको मूल प्रवाहका रूपमा रेल सेवाको विकास गर्न सकिने सम्भावना प्रशस्त छ । रेल सेवा विकास गर्ने योजना स्वरूप सन् २००९ मा सरकारले पूर्वपश्चिम नौ सय ४५ किमि रेलको सम्भाव्यता अध्ययन गरेको थियो । सन् २०१४ देखि यसका विभिन्न्न खण्डको निर्माण शुरु भइसकेको छ । तर, विडम्वना अहिले रेल निर्माणको काम कहाँ भैरहेको छ र कति प्रतिशत भयो भन्ने नै छैन । जनतामात्र होइन सायद सरकार पनि बेखबर छ । निश्चितरुपमा रेल सेवाले अन्य आर्थिक विकासका गतिविधिहरू जस्तै व्यापार तथा उद्योगधन्दाको विकासमा ठूलो सहयोग पुग्छ । नेपालले पनि अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रबद्र्धनका लागि विश्वका उदीयमान ठूला अर्थतन्त्र चीन र भारतसँग रेल सेवा जोड्ने कामलाई प्राथमिकता दिनुपर्छ । पूर्वपश्चिम रेल मार्ग एउटा आशाका रुपमा हेरिएको थियो तर त्यो नेपाली जनताका लागि अहिले हर्ष न विष्मात हुने हो कि भन्ने चिन्ता छ ।