© २०२३
नवलपरासी, १८ मंसिर ।
सरोकारवाला निकायको बेवास्ताले प्राचीन कोलिय गणराज्यको राजधानी समेत रहेको पुरातात्विक रामग्राम (पण्डितपुर) मा अहिले धमाधम पक्की संरचना निर्माण भइरहेका छन् । पुरातत्व विभागले नजिकै राखेको पुरातात्विक स्थल सम्बन्धी बोर्डको उपेक्षा गर्दै स्थानीयले धमाधम पक्की संरचना निर्माण गर्दै गरेको भए पनि सरोकारवाला निकायले संरक्षणप्रति गैर जिम्मेवारी देखाउँदै आएका हुन् ।
विगत बर्षदेखि नै प्राचीन कोलिय गणराज्यको राजधानी भनेर पुरातत्वविदहरुले बताउँदै ती स्थानको संरक्षण गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेका थिए । “सो स्थानमा नेपाल सरकार पुरातत्व विभागले सूचना समेतको होर्डिङबोर्ड राखेको छ”–एक स्थानीयले भने, “तर होर्डिङ बोर्ड नाम मात्रको छ । पुरातात्विक क्षेत्रमा धमाधम पक्की घर बन्दै छन्, कसैले त्यसप्रति चाँसो देखाएका छैनन् ।”
पुरातात्विक क्षेत्र प्राचीन कोलिय गणराज्यको राजधानी समेत भनेर गौरवपूर्ण भाषण गर्ने जनप्रतिनिधि समेत कानमा तेल हालेर आँखा बन्द गर्दै हिड्ने गरेका छन् । भन्नलाई विश्व सम्पदा भन्ने गरेका छन् । तर सम्पदा नष्ट भइरहेका छन् । अतिक्रमण भइरहेका छन् । जानकारीका लागि सूचना बोर्ड समेत गाडिएको छ । तर न त कुनै जनप्रतिनिधिले घर निर्माण भइरहँदा रोक्न आए, न त पुरातात्विक स्थलको महत्व बताउँदै सम्झाउन आएका छन् ।
“चुनावमा भोट बिग्रिन्छ भन्ने जनप्रतिनिधिको डर छ”–उनले भने,“जब सरकारी निकायमा बस्नेले बोल्न र रोक्न सक्दैनन् भने स्थानीय ब्यक्तिले के गर्न सक्छन् ।” पुरातत्व बिभागमा लिखित परिपत्र समेत पुरातत्व विभागले पठाएको छ । पुरातात्विक क्षेत्रको अतिक्रमण गर्ने, भौतिक संरचना नष्ट गर्दै विभिन्न भवन पूर्वाधार बनाउने कार्य गैरकानुनी भइरहेका छन् ।
कानुनको कार्यान्वयन गर्ने स्थानीय प्रशासनले समेत सम्पदा संरक्षणमा चाँसो नदेखाएको उनको भनाई छ । जो सरकारी सेवा सुविधा लिएर कानुन कार्यान्वयन गर्ने, कानुनको पालना गराउने जिम्मेवारी बोकेको छ, त्यसले केही गर्न सक्दैन भने गाउँका कुनै ब्यक्तिले ब्यक्तिगत रिसइवी लिएर कसरी प्राचीन सम्पदाको संरक्षण गर्न सक्छ ? उनले प्रश्न गरेका थिए ।
प्राचीन कोलिय गणराज्यको राजधानीमा पुरातत्व विभागले दुई बर्ष पहिला नै बोर्ड राखेको थियो । यी प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अन्य कुनै किसिमसँग हानी नोक्सानी पुर्याएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौ संसोधनको दफा १२ को उपदफा (क, ख र ग) अनुसार पच्चीस हजार रुपियाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुबै सजाय हुनेछ भनी उल्लेख छ । तर यी बोर्ड राखिएको २० मिटर भित्रैको परिधीमा चार वटा पक्की घर बनेका छन् । दुईवटा कच्ची घर बनेका छन् । केही घर बन्ने क्रममा छन् । सूचना बोर्ड औपचारिकताका लागि मात्र देखिएको छ । कानुन कार्यान्वयन गर्ने स्थानीय प्रशासन आँखा बन्द गरेका छन् । प्राचीन स्मारकहरुको संरक्षण सहितको जिम्मेवारी पाउने स्थानीय सरकार भन्ने स्थानीय तह नगरपालिका समेत यसप्रति उदासिन देखिएको छ ।
प्राचीन कोलिय गणराज्यको राजधानी क्षेत्रमा यही साता भुभौतिक सर्वेक्षण भएर प्रमाणित हुने क्रममा छ । पुरातत्वविदहरुले करिब ५० विघा क्षेत्रफलमा राजधानीको अन्तोनगर र बाह्य नगर भनेर फैलिएको बताएका छन् । यी क्षेत्रमा थुप्रै प्राचीन वस्तु, इनार, पर्खाल, ग्रेवर, माटाका भाँडा, मूर्ति आदि वस्तुहरु रहेको बताएका थिए । यिनै क्षेत्रमा अहिले धमाधम पक्की घर बन्नु र बन्न दिनु प्राचीन स्मारक ऐन अनुसार गैरकानुनी आपराधिक कार्य भइरहेको छ । तर रोक्ने निकायले किन वेवास्ता गर्दै होला भनेर स्थानीयले प्रश्न समेत गर्न थालेका छन् । पुरातात्विक क्षेत्रमा भवन पूर्वाधार बनिरहेको कुरा स्थानीय रामग्राम १८ का वडा अध्यक्ष गोपाल डिस्वाले पनि स्वीकार गरे । तर रोक्ने कार्य त स्थानीय प्रशासनको भएको बताउँदै उनी पन्छिएका छन् ।
यता, जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती यादव (रुदल)ले यस्ता कार्य तत्काल स्थानीय प्रशासन र नगरपालिका मिलेर रोक्नु पर्ने बताए । यसका लागि आफुले तत्कालै सरोकारवाला निकायसँग समन्वय गरिने दाबी गरेका थिए ।
तत्कालीन बेला बनाईने माटोको पर्खालका पोष्टहोल, इनार, इट, खैरो भाँडा (गे्रवर) सिक्का आदिको आधारहरुले तिलौराकोटमा जे जस्तो सामग्री फेला पर्ने गरेको छ, त्यही खालको यो पण्डितपुरमा पनि पाउन थालेको छ । शाक्य राज्यको राजधानी कपिलबस्तु र कोलिय गणराज्यको राजधानी पण्डितपुरको स्वरुप एउटै खालको भेटिंदा प्राचीन इतिहास अनुसार कोलिय राजा र शाक्य राजासँगको सम्बन्धलाई स्थापित गर्छ । शाक्य राजकुमार शुद्धोधन र कोलिय राजकुमारी मायादेवीको विवाह भएको र उनको सन्तानको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।
तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी शाक्यमुनि बुद्ध भए र संसारमा शान्तिको सन्देश प्रवाह गरे । जुन दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र निवारणका विधि विपश्यना ध्यान अभ्यासले प्राप्त हुन्छ । त्यही आधारलाई अहिले संसारभर भगवान बुद्धको मार्गको रुपमा बौद्धमार्गीले अपनाउँदै आएका छन् । बुद्धत्व प्राप्त गरी सँसारलाई दुःख विमुक्तिको बाटो देखाउने सिद्धार्थ गौतमको जन्म दिने आमाको जन्मस्थल अहिले फेला पर्दा स्थानीय उत्साही भएका छन् । तर केही ब्यक्तिले ती प्राचीन स्थल नष्ट गर्दै घर बनाउँदै आउँदा र रोक्ने निकाय मौन हुँदा चिन्ता पनि ब्यक्त गर्ने गरेका छन् । पण्डितपुर सँसारभरि चिनिने अवस्थामा पुगेको छ । भगवान बुद्धलाई जन्म दिने आमाको जन्मस्थलमा सँसारका मानिस आउने छन् ।