© २०२३
प्राचीन तिलौराकोटस्थित राजा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार क्षेत्रको उत्खनन वर्षौदेखि भैरहेको छ । उत्खननबाट हजारौं बर्ष पुराना ऐतिहासिक पुरातात्विक सम्पदाहरु भेटिएका छन । ती सम्पदाको सुरक्षितरुपमा संरक्षण गर्ने कुरा महत्वपूर्ण छ । उता बर्षौ उत्खनन भैरहने तर उत्खननको क्रम कहिल्यैपनि नसकिने हुँदा दरबार क्षेत्र खुल्ला संग्रहालय जस्तै भएको छ । उत्खननबाट फेला परेका ऐतिहासिक महत्वका वस्तुहरु त्यसै छाडिँदा ती लोप हुने र हराउने जोखिम त्यसैपनि छँदैछ । लुम्विनी विकास कोषले अहिले त्यहाँको उत्खननको नेतृत्व गरिरहेको छ । कपिलवस्तुमा दर्जनौं त्यस्ता बौद्धिष्ट साईटहरु छन जसको तत्कालको उत्खननले मात्र संभव छैन । ती ऐतिहासिक पुरातात्विक सम्पदाहरुको संरक्षणमा ध्यान दिन अव ढिलो भैसकेको छ । प्रत्येक बर्ष उत्खनन् गर्ने तर त्यसको संरक्षण नगरिकन खुल्लारुपमा छोड्दा त्यहाँका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगिसकेको स्थानीयहरुको गुनासो छ । अर्कोतर्फ संरक्षणवीदहरुले समेत कपिलवस्तु खुला संग्रहालयका रुपमा मात्रै रहेको र त्यसको उचित संरक्षणमा ध्यान नगएको गुनासो गरेका छन । लुम्विनी विकास कोषको पहलमा अन्तर्राष्ट्रिय पुरातत्ववीदहरुले उत्खनन र संरक्षणको काम गरिरहेका छन । तर, बर्षौदेखि उत्खनन मात्रै गरिरहने कुराले सार्थक महत्व राख्दैन । स्थानीय वासिन्दाहरु समेत प्रत्येक बर्ष उत्खनन हुन्छ तर उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरुको संरक्षण हुन सकेको छैन भन्दै गुनासो गर्दै आएका छन । उत्खननलाई केवल औपचारिकता मात्र दिने गरिएको छ । उत्खननबाट भगवान गौतमबुद्धले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित त भएको छ तर त्यतिले मात्र अव पुग्ने अवस्था छैन । यसको संरक्षणको सवाल अर्को महत्वपूर्ण पाटो हो । तिलौराकोटमा यसअघि पनि उत्खनन नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयाँ नयाँ ऐतिहासिक वस्तुहरु प्राप्त भैरहेका छन र ती वस्तुहरुले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पुराएका छन । ती ऐतिहासिक वस्तुहरुको उत्खननवाट प्राप्त वस्तु र बुद्ध सम्पदाको संरक्षणका लागि ठोस योजना अघि बढाउनु जरुरी छ ।
तिलौराकोट क्षेत्रमा विगत कैयौं वर्षयता भैरहेका उत्खननका गतिविधिले निश्चितरुपमा यस क्षेत्रको पुरातात्विक र पर्यटकीय विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दावी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरुलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर विश्वका वरिष्ठ पुरातत्ववीदहरुले तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित गरिदिएका छन र भ्रममा कोही पर्नुपर्ने अव कुनै कारण र आवश्यकता पनि छैन । निश्चितरुपमा कपिलवस्तुमा छरिएर रहेका बुद्धकालीन अवशेषहरु लोप हुंदै गएका छन । तिनको खोजीनीति गर्ने कार्य भैरहेको छैन । मात्र तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जव समग्र बुद्धकालीन ऐतिहासिक कपिलवस्तु क्षेत्रको विकास र उत्खननमा सरकारले ध्यान दिनेछ । तसर्थ अव तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दर्जनौं ऐतिहासिक सम्पदाहरुको संरक्षणमा पनि ध्यान दिनु जरुरी छ ।