© २०२३
प्रसिद्ध भारतीय गायका कुमार सानु लुम्बिनी आउँदै छन् । लुम्बिनी भ्रमणको इच्छा देखाएको सानुले भ्रमणकै क्रममा “कुमार सानु एकल साँझ” समेत प्रस्तुत गर्ने भएका छन् । प्यारामाउण्ट इन्टरटेयरमेन्ट रूपन्देहीको आयोजनामा सानुको एकल साँझ हुन लागेको हो । नेपाली र हिन्दी गरी २० हजार बढी गीतमा आवाज दिएका कुमार सानुको एकल साँझ नेपालमा दोस्रो पटक हो । यसअघि उनको काठमाडौंमा एकल साँझ भएको आयोजक संस्थाका अध्यक्ष दीपक घिमिरेले बताए । गीत संगीतको क्षेत्रमा योगदान गरेकै कारण भारतको प्रख्यात फिल्म फेयर अवार्ड र पदमश्री सम्मानबाट सम्मानित सानु ९० को दशकमा सर्वाधिक रुचाइएका गायक हुन् । उनले दर्जनौं कालजयी हिन्दी लगायत दर्जन बढी नेपाली गीतमा आवाज दिइसकेका छन् । उनकै इच्छा अनुसार रूपन्देहीमा आयोजित एकल साँझमा सानुले ३० बढी गीतमा लाइभ ब्याण्डका साथमा प्रस्तुती दिने अध्यक्ष घिमिरेले बताए । सानुसँगै नेपाली गायिका देविका बन्दनाले पनि नेपाली र हिन्दी गीतको प्रस्तुती दिने आयोजकले जनाएका छन् । करिब ४० लाख खर्च लाग्ने जनाइएको उक्त कार्यक्रम पश्चात अर्को दिन कुमार सानुले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण समेत गर्नेछन् ।