© २०२३
नेपाल सरकारका गभर्नर डा. चिरञ्जिवी नेपालले उत्पादन घट्दै गएकाले परनिर्भरता बढ्दै गएको बताएका छन् । देशले अहिले २८ अर्बको चामल, ११ अर्ब रूपैयाँको तरकारी, ८ अर्ब रूपैयाँको फलफूल र १५ अर्ब रूपैयाँको तेल आयात गर्ने गरेको भन्दै गर्भनर नेपालले देशमा परनिर्भरता बढ्दै गएको बताएका हुन् । आईतबार पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन गर्दै गर्भनर डा. नेपालले यस्तो बताएका हुन् ।
उनले देशलाई आर्थिक समृद्विका रूपमा अगाडि बढाउन स्वदेशमै उत्पादन गर्नुपर्ने बताएका छन् । स्वदेशी माटोमै स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । गर्भनर नेपालले भने ‘हामी पैसा खोज्न विदेश भौतारिएका छौं, व्यापार व्यवसाय गर्न बाहिर गएका छौं तर आफ्नो ठाउँमा गर्न सकिने र संभावनालाई वेवास्ता गरेका छौ जसले गर्दा हामी आर्थिक विकासमा पछि पर्नु परेको छ ।’
अब देशमै केही गर्ने समय आएको छ । अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन तिर लाग्न गर्भनर नेपालले आग्रह गरेका छन् । कार्यक्रममा नेपाल बैंङ्कर एशोसियसनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीहरूमा समेत वित्तिय चेतना आवश्यक रहेको बताए ।
उनले देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । देश विकासका लागि भविष्यमा कर्णधारलाई आजैदेखी बैङ्कीङ चेतना दिनु आवश्यक रहेको पौडेलले बताए । नव साक्षर समुदायका लागि वित्तिय चेतना जगाउने उद्देश्यले लेखिएको पैसाको खेती पुस्तक बजारमा आएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्धारा लिखित पुस्तक आईतरबार देखी बजारमा आएको हो । फिन्लिट प्रालि मार्फत् बजारमा आएको पुस्तकको मूल्य २ सय ४० रहेको छ । पुस्तकमा पैसा के हो ?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने ? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय समेटिएको छ ।