© २०२३
देवदहमा कवि एवं गीतकार बसन्त चौधरीको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाज नेपालको आयोजनामा चौधरीको कविता र बसन्त नामक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि एवं गीतकार चौधरीले करिब डेढ दर्जन आफ्ना रचनाहरू सुनाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यसँगै कवि चौधरीले देवदह जस्तो अध्यात्मिक नगरीमा आएर आफ्ना रचनाहरू सुनाउन पाउनु गौरवको विषय रहेको बताए । उनले साहित्य क्षेत्रलाई जोगाइराख्न यहाँका सर्जकहरू विशेष रूपले लाग्नुपर्ने बताए ।
कार्यक्रममा देवदह नगरप्रमुख हिराबहादुर खत्रीले साहित्यिक कार्यक्रमले देवदहलाई साहित्यिक हबका रूपमा चिनाएको बताए । उनले देवदह नगरपालिका अध्यात्मिक नगरपालिका भएकाले साहित्यक क्षेत्रको पनि देवदहमा विकास हुनु गौरबको विषय रहेको बताए । उनले साहित्य क्षेत्रमा लागेकालाई यस्ता कार्यक्रमले आत्मबल प्रदान गर्नुका साथै देवदहलाई साहित्य, धार्मिक र पर्यटनको रूपमा विकास गर्ने योजना रहेको सुनाए । कार्यक्रममा युगिन साहित्य समाज देवदहका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले कवि चौधरीको कविता तथा गीतहरूका बारेमा प्रकाश पार्दै कविको रचनामा विशेषगरी प्रेम, जीवन र दर्शन संग सम्बन्धित रहेर कविता तथा गीतहरू रचना गरेको बताए । उनले कवि चौधरीको बसन्त नामक कविता संग्रह एकैदिनमा ९ वटा भाषामा बिमोचन गरिएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल ढुङ्गानाले अनुराग साहित्य समाजले बिभिन्न ४० वटा साहित्यिक श्रृंखलाहरू सम्पन्न गरेको बताउदै कविता र बसन्त नामक साहित्यिक श्रृंखला ४१ औं साहित्यिक श्रृंखलाका रूपमा मनाइएको बताए । कार्यक्रम संस्थाका द्वितीय उपाध्यक्ष सरस्वति बस्याल, प्रथम उपाध्यक्ष यमलाल अर्याल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।