© २०२३
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले तरुण नेता रोहित पुनको हत्याको घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिकाका तरुण नगर अध्यक्ष रोहित पुनलाई गोली हानी हत्या गरिएको बिषयमा तत्कालै कडा कारवाही हुनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, पार्टीका तरुण बिभाग प्रमुख जमसेद खाँ, तरुण दल बाणगंगा नगर सभापति तिलक थापा, जिल्ला सदस्य फकरुद्दिन खाँ, नेबिसंघ क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल लगायतले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा मृतक प्रति श्रद्धान्जली प्रकट गर्दै पुनलाई शहिद घोषणा गर्न माग गरिएको छ । ज्ञापनपत्रमा सरकारलाई अपराधी संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिँदै हत्यारालाई तत्काल कारवाहीको माग गरिएको छ । पुनलाई शहिद घोषणा नगरिए सरकार बिरुद्ध शसक्त आन्दोलन गर्ने समेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोख्रेलले सम्बन्धित निकायमा प्रेषित गरिने बताए ।