© २०२३
सैनामैना नगरपालिकाले एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरभित्र बसोबास गर्ने ८४ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई छडी, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नगर भित्रका बिभिन्न क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरूको सहजताको लागि ३ ठाउँमा कार्यक्रम आयोजना गरेर सम्मान गर्न थालिएको सैनामैना नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए । जस अन्तर्गत १७ गते वडा नं. ९, १० र ११ को सालझण्डीको सभाहलमा, दोस्रो दिन १८ गते वडा नं. ५, ६, ७ र ८ को रामापुरमा रहेको सत्चिन्तन सामुदायिक प्रतिष्ठानको भवनमा र अन्तिम दिन १९ गते वडा नं. १, २, ३ र ४ को थारु होमस्ट्रेमा कार्यक्रम रहेको भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जेष्ठ नागरिक भनेको यस नगरको अभिभावक भएको हुँदा सम्मान गर्नु नगरको दायित्व रहेको बताए । अहिले हामी जे जस्तो अबस्थामा छौं यस्तो अबस्था सिर्जना हुनुमा जेष्ठ नागरिकको भूमिका अनुकरणिय रहेको कार्कीको भनाई थियो ।
जेष्ठ नागरिकको सम्मान स्वरूप नगरले अब ८० बर्ष काटेका जेष्ठ नागरिकलाई घर मै गई बृद्ध भत्ता दिने तयारीमा रहेको नगर प्रमुख कार्कीले बताए । नगरभित्र बसोबास गर्ने ४ सय जना जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना अनुरूप पहिलो दिन ६० जनालाई सम्मान गरिएको थियो ।