© २०२३
मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ अपराध संहिता संशोधनमा सरकारले चासो नदेखाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सक संघले आइतबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेपाल चिकित्सक संघको केन्द्रीय सर्कुलर अनुसार आज माईतीघर मन्डलामा धर्ना दिने कार्यक्रम तय गरिएको छ । यस्तै नेपाल चिकित्सक संघ लुम्बिनीकी अध्यक्ष डा. नन्दा गुरुङ्गले सोमबार कुनै पनि अस्पतालमा बिरामी भर्ना नलिने, मंगलबार बिरामीको शल्यक्रिया नगर्ने र बुधबार ल्याब टेस्ट नगर्ने लगायत साताव्यापी कार्यक्रम केन्द्रले घोषणा गरेको र सोही अनुसार कार्यान्वन हुने जानकारी दिईन् । विरामीहरुले दुःख नपाउनु भन्ने हेतुले जानकारी प्रदान गर्नको लागि समेत उनले मिडियामार्फत अनुरोध समेत गरेकी छिन् ।
चिकित्सक संघले १८ गते सोमबार देशभरका स्वाथ्य संस्थाका प्रशासनीक कामहरु बन्द गर्ने जनाएको छ । यस्तै १९ गते मंगलबार देखि आकस्मीक बाहेकका अन्तरङ्ग सेवामा बिरामी भर्ना नगर्ने जनाएको हो । यस्तै भदौ २० गते बुधबार देखि आकस्मीक बाहेकका अन्य अप्रेसनहरु समेत बन्द गर्ने जनाएको छ भने भदौ २१ गते विहिवार देखि आकस्मीक सेवा वाहेकका सबै रेडियोलोजी सेवा बन्द गर्ने जनाएको छ । यस्तै भदौ २२ गते शुक्रबार देखि आकस्मीक वाहेकका ओपी लगायत सबै स्वास्थ्य सेवाहरु संघको माग सम्बोधन नभएसम्म बन्द गर्ने निर्णय गरिएको जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
भदौ १ गतेदेखि लागू भएको संहितामा उपचारका क्रममा लापरबाही गरी बिरामीको मृत्यु भए चिकित्सकलाई जन्मकैदसम्म सजाय हुने व्यवस्था गरिएको छ । नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्न उन्मुख भएको भन्दै संघले संहिता संशोधन गर्न माग गर्दै आएको छ ।