Butwal Today
कहिले आउलान् सुरक्षा उपकरण सञ्चालनमा

कमजोर कुटनीतिले थलिंदै गौतमबुद्ध विमानस्थल

आइएलएसको प्रयोगका लागि जति ढिला भयो ३२ अर्व भन्दा बढी लगानी गरेर बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्यति नै बढी घाटामा जाने देखिएको छ ।
९ कार्तिक २०७९, बुधबार
अ+
अ-

बुटवल, ९ कात्तिक ।

सरकारको कमजोर कुटनीतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन लगातार घाटामा जान थालेको छ । विमानस्थल सञ्चालनमा लागि दैनिक पाँच उडान आवश्यक भएपनि अहिले सातामा तीनवटा मात्रै अन्तर्राष्ट्रिय उडान भैरहेको छ । हवाई सुरक्षामा चासो देखाउँदै विभिन्न मुलुकका विमान कम्पनीहरुले उडानमा चासो नदेखाउँदा विमानस्थलको सञ्चालन दयनीय बन्दै गएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पाँच महिना बित्दा पनि सुरक्षा सम्बन्धी उपकरण सञ्चालनमा आएका छैनन् । सातामा तीनवटा मात्रै अन्तर्राष्ट्रिय उडान भैरहे पनि काठमाडौंबाट हुने आकस्मिक अवतरणका लागि भन्दै २४ सै घण्टा नै खुला राखिएको विमानस्थलको सुरक्षा सम्बन्धी उपकरणहरु सञ्चालनमा आउन नसकेका हुन् ।

त्यस्तै विमास्थलमा झण्डै एक अर्व भन्दा बढी खर्च गरेर ल्याइएको इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम अर्थात आइएलएसको जडान गरिएको छ । विमानस्थलमा कमजोर भिजिविलिटी हुँदा पनि उडान अवतरण गर्न सकियोस् भनेर आइएलएस जडान गरिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरवाही र भारतीय पक्षको बेबास्ताका कारणले आइएलएस भारत सरकारको अनुमतिबिना नै प्रयोग हुन नसक्ने अवस्था आएको छ ।

यस्तै आइएलएस एक चुस्त रेडियो नेभिगेशन प्रणाली हो । जसले विमानहरुलाई रातिमा वा खराव मौसममा पनि रनवेमा अप्रोच गर्नका लागि उपकरणबाटै मार्गनिर्देशन गर्दछ । यो प्रणाली जडान भएपछि करिव पाँचसय मिटरको मात्रै भिजिबिलिटीमा पनि विमान अवतरण गर्न सकिने छ । नेपालमा आइएलएस जोडिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै पहिलो विमानस्थल हो । त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलमा समेत तोकिएको भिजिवलिटी पूरा भएको अवस्थामा मात्रै विमान अवतरण हुने प्रणाली रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएसले खराव भिजिविलिटीमा पनिरेडियस संकेत मार्फत अवतरण गर्नका लागि चालकदललाई गाईड गर्ने गर्दछ । यस्तै प्राधिकरणले सुरुमा आइएलएसको क्याटगोरी १ को उपकरण जडान गरेर डिजाइन गरेको थियो । जसको फ्रिक्वेन्सी नेपालभित्र नै रहने गरी निश्चित गरिएको थियो । तर निर्माणका क्रममा आइएलएसको क्याटगोरी २ अर्थात मध्यम दक्षताको करिव ५० करोड भन्दा बढीको उपकरणहरु जोडिएको छ । प्राधिकरणले क्याटगोरी २ को मापदण्ड अनुसार नै विमानस्थलको रनवेलाई लाइटिङ सिस्टम अनुसारको पूर्वाधारमा थप करिव २५ करोड खर्च गरेको छ । यो उपकरणको रेडियो डाटा अर्थात फ्रिक्वेन्सी प्रवाह हुने एङ्गल र कभरेज एरियाको केही भाग भने भारतीय भूमिमा पर्न गएको छ । अव आइएलएस सञ्चालनको प्रोसिड्योरका लागि नेपालसँगै भारत सरकारले समेत स्वीकृति दिनुपर्ने हुन्छ । आइएलएसको प्रयोगको अनुमति माग्दै नेपाल सरकारले पाँच महिना अगाडि नै पत्राचार गरिसकेको छ । तर भारतले कुनै पनि जवाफ दिएको छैन ।

यदि भारत सरकारले स्वीकृति नगरेमा आइएलएसको प्रोसिड्योर अन्तर्राष्ट्रिय उडान संगठन (आइकाओ) बाट पनि स्वीकृति हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने स्वीकृति स्पेसिफिकेशन अनुसार नै उपकरण जडान गरिएको दावी गरे । त्यो उपकरणले निश्चित एंगलबाट मात्रै फ्रिक्वेन्सी रेडिगेट गर्दछ । “त्यो फ्रिक्वेन्सी ओगट्ने क्षेत्र भने केही भाग भारतीय भूमिमा पर्ने गरेकाले समस्या भएको हो”–उनले भने ।

विश्वका धेरै साना देशहरुले संयुक्त एअर स्ट्रेश प्रयोग गरेको भन्दै उनले मलेसिया र सिंगापुरको उदाहरण दिए । “यो नौलो विष होइन, तर यसलाई कुटनीतिक तवरबाट नै समाधान गर्नुपर्छ”–अधिकारीले भने । त्यस्तै आइएलएसको प्रयोगका लागि जति ढिला भयो ३२ अर्व भन्दा बढी लगानी गरेर बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्यति नै बढी घाटामा जाने देखिएको छ । आइएलएस प्रयोग गर्ने हो भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सुरक्षा समेत मजवुत हुनेछ । भारतले आफ्नो कुशीनगरस्थित विमानस्थलमा असर पर्ने भन्दै आइएलएस प्रयोगका लागि नो अव्जेक्शन दिन मानेको छैन ।