© २०२३
बुटवलमा सम्पन्न अन्तर मावि सितोरियो कराते प्रतियोगिताको उपाधि क्यानन माविले हात पारेको छ । कराते खेलाडीहरूलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा शनिबार भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ काश्य गरि ९ पदक जित्दै प्रथम भएको हो । यसैगरि प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ३ कास्य गरि ९ पदक सहित दीप बोर्डिङ्ग स्कुल दोस्रो भएको छ यसैगरि २ स्वर्ण, २ रजत तथा ४ कास्य सहित ८ पदकसहित एभरेष्ट बोर्डिङ्ग तेस्रो भएको छ । प्रतियोगितामा पुरुषतर्फ एपेक्सका दिप्सन थापा र महिलातर्फ दुर्गादत्त माविकी कृतिमा गौतम उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभालाई प्रतियोगितामार्फत प्रस्फुटन गराउने र खेलभावना विकास गर्ने उद्येश्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष नारायण थापाले बताए । यस क्षेत्रमा रहेका क्लबहरू अब खेल र खेलाडीको विषयमा थोरै भएपनि योगदान दिनेगरि अगुवाई गरेको उनले दाबी गरे । खेल र स्वस्थ्यलाई जोडेर सचेतना जगाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिताले नेपालगंजमा आयोजना हुने आठौं राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूको क्षमता आँकलन गर्न समेत सहयोग सिद्ध हुने उनको तर्क छ । प्रतियोगिताको विजेता टिम तथा खेलाडीहरूलाई बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेबि आचार्यले पुरस्कार वितरण गर्दै बुटवल खेलको उर्वरभूमि भएको बताए । उनले सबै खेललाई समेटेर पूर्वाधार विकास गर्ने उनले बताइन् । कार्यक्रममा लायन्सका पिडिजी महेन्द्रनारायण श्रेष्ठ, अर्जुनमान सैजु, सुरेशरत्न बज्राचार्यले सामाजिक क्षेत्रमा अग्रसर लायन्स खेलमार्फत स्वस्थ्यमा आफूहरू लागेको बताए । नेपाल कराते महासंघका केन्द्रिय सदस्य अमिर राई, रूपन्देही सितोरियो कराते संघका अध्यक्ष उमेश थापाले प्रतियोगितामार्फत खेलाडीहरूले अवसर पाउने बताए । कार्यक्रमका संयोजक शंकर पाण्डेले रूपन्देहीका विभिन्न नीजि तथा सामुदायिक ९ विद्यालयका पुरुषतर्फ २५, २८, ३२, ३६, ४०, ४५, ५० र ५५ केजी तौल समुह तथा महिलातर्फ ३५, ४०, ४५ र ५० तौल समुहमा करीब एक सय २० बढी खेलाडीहरूले भाग लिएको बताए । यसैगरि शनिबार नै रूपन्देही खेलकुद विकास समितिको कार्यालय परिसरमा निशुल्क मधुमेह परिक्षण कार्यक्रम समेत भएको छ । थाईरो ल्याबको प्राविधिक सहयोगमा क्लबले आयोजना गरेको कार्यक्रममा ५१ जना परिक्षण गरेका संयोजक शंकर पाण्डेले बताए ।