© २०२३
लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवलमा अन्तर मावि सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरका कराते खेलाडीहरुलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका साथ भदौ २ गते शनिबार बुटवलमा एक दिने प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा पुरुषतर्फ २५, २८, ३२, ३६, ४०, ४५, ५० र ५५ केजी तौल समुह तथा महिलातर्फ ३५, ४०, ४५ र ५० तौल समुहमा खेल खेलाईने क्लबका अध्यक्ष नारायण थापाले बताए । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रतियोगितामार्फत प्रस्फुटन गराउने र खेलभावना विकास गर्ने उद्येश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको उनले बताए । यस क्षेत्रमा रहेका क्लबहरु अब खेल र खेलाडीको विषयमा थोरै भएपनि योगदान दिनेगरि कामअघि बढाउने गरि आफुहरुले अगुवाई गरेको उनले दाबी गरे । खेल र स्वस्थ्यलाई जोडेर सचेतना जगाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिताले नेपालगंजमा आयोजना हुने आठौ राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरुको क्षमता आकलन गर्न समेत सहयोग सिद्धहुने उनको तर्क छ । प्रतियोगिताको विजेता टिम तथा खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । कार्यक्रमका संयोजक शंकर पाण्डेले रुपन्देहीका विभिन्न नीजि तथा सामुदायिक ९ विद्यालयका करीब एक सय २० बढी खेलाडीहरुले भाग लिने बताए ।