© २०२३
सल्यान, १५ फागुन । शैक्षिक गतिविधिलाइ नमुनाको रूपमा संचालन गरिरहेको सल्यानको निराजन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउँदै आएको छ । सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ स्थित निराजन मावि ढोरचौरमा पशु बिज्ञान तर्फ कक्षा १० का विद्यार्थीले अहिले पढाइ संगै पेडा, खुवा र दुधजन्य परिकार बनाउने सीप सिकिरहेका छन् ।
पाठ्यपुस्तक पढ्ने मात्र नभई व्यवहारिक सीप सिक्दै विद्यार्थीले आफ्नो क्षमता अभिबृद्धिका क्रियाकलापमा संलग्न भएका हुन् । दुधबाट बन्ने स्वादिष्ट परिकार पेडा र खुवा बनाउने सीप सिकेका ४८ जना विद्यार्थीले यस लगत्तै पनिर बनाउने तरिका सिक्दैछन् । सबै कुरा किताबमा लेखेको पढेर मात्रै हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षालाई पनि प्राथमिकता दिइएको निराजन माविका प्रधानाध्यापक धर्मराज घर्तीमगरले जानकारी दिए । सफल व्यवसायी बन्न सक्ने दक्षता दिलाउन र पशुपालन व्यवसाय तर्फ आकर्षित गर्नका लागि विद्यार्थीलाई दुधजन्य परिकार बनाउने तरिका सिकाइएको उनको भनाई छ ।
प्रयोगात्मक रूपमै जीवनोपयोगी सीप सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन् । कक्षा १० मा अध्ययनरत छात्र यमराज सुनारले पढाईलाई व्यवहारिक रूपमा अगाडी बढाउन सहयोग पुगेको बताए । सीप सिकेर दक्षता बढाएका विद्यार्थीमा भविष्यमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको देखिन्छ । यस प्रकारको क्रियाकलापले विद्यार्थीमा मिहेनत गर्ने बानी र सीपको विकास भएको र आगामी दिनको लागि हौसला पनि प्रदान भएको विद्यालयले जनाएको छ । केही दिनमै पशु विज्ञानका विद्यार्थीलाई विभिन्न अनुसन्धान केन्द्रमा शैक्षिक भ्रमणमा लगिने पनि प्रधानाध्यापक घर्तीमगरले जनाए ।
विज्ञानलाई सर्वव्यापी बनाउने र विद्यालयमा औपचारिक कक्षामा सिकेका सैदान्तीक पक्षहरूलाई व्यवहारमा उतार्ने तथा जीवनसंग सान्दर्भीक बनाउन विभिन्न परियोजना बनाउने, कार्यान्वयन गर्ने, वैज्ञानिक चासो र रुचीका विषयमा खोजतलास गर्ने लगायतका उद्देश्य निराजन माविको छ । यी उद्देश्य प्राप्तीका लागि विद्यालयले केही महिना अघि ‘निराजन साईन्स रिसर्च क्लव’ समेत गठन गरेको थियो ।