© २०२३
बुटवल, ७ फागुन ।
विद्यालय परिसरमा चलेको पुस्तक प्रदर्शनीमा अक्सफोर्ड मावि कक्षा ६ मा अध्ययरत छात्र अर्पित खनाललाई ‘रावण द एनिमी अफ आर्यभर्त’ पुस्तक मन पर्यो । धार्मिक कथालाई सचित्र ब्यख्या गरिएको ज्ञानका विषय हुँदा पुस्तक मन परेको उनी बताउँछन् । पढाईसंगै उनी नयाँ सिकाई र ज्ञानका विषयमा रुची राख्छन् । विद्यालयमा हरेक शुक्रबार हुने हाजिरीजवाफ प्रतियोगितामा समेत सहभागी हुन्छन् ।
अक्सफोर्डमा नै कक्षा ९ मा अध्ययरत रोशनी गुरुङलाई पुस्तक प्रदर्शनीमा अंग्रेजी लेखकका बैज्ञानिक खोज र अध्ययनका पुस्तक मन पर्यो । उनले आफुसंगै आएका अभिभावकलाई पुस्तक किन्न आग्रह गरिन् । पढाईसंगै पेन्टिङमा रुची राख्ने उनी आफुले भनेजस्तै विज्ञान र नयाँ खोजका विषयहरु समावेश पुस्तक धेरै पाउँदा खुसी भईन् । अक्षरमात्र भन्दा पनि चित्रसहितका पुस्तकमा उनको ध्यान गयो ।
अभिभावक पिताम्बर अधिकारीले पुस्तक प्रदर्शनीमा माधव अधिकारीको धार्मिक पुस्तक र डेल कार्नेगीको तार्किक चिन्तन कला तथा तर्कविधि नामक पुस्तक किने । धेरै मनपर्ने शब्द चयनका कारण उनी पुस्तकमा आकर्षित भएको बताए । घरमा बच्चाहरुलाई कथाहरु सुनाउन समेत उपयोगी हुने पुस्तक भएको उनले बताए । मोबाइल धेरै हेर्न बानी परेका बच्चाहरुलाई पुस्तकमा बिस्तारै बानी पार्दै लगेर भुलाउन सकिने उनले बताए । उनले आध्यात्मिक पुस्तकहरु आफूलाई धेरै मनपर्ने र प्रदर्शनीमा धेरै पाएको बताए ।
बालबालिकाहरुमा मोबाइल लत बनेको छ । कक्षा कार्य गर्ने र विद्यालय समयभन्दा बचेको समय उनीहरु मोबाईलमा रमाउन चाहन्छन । अधिकांश बालबालिका मोबाइलमा माईण्ड क्रास्ट, फ्रि फायर जस्ता खेल्छन् । शारीरिक खेलकुदभन्दा पनि मोबाईलका गेममा बच्चाहरु ब्यस्त हुने गरेको पाउँछौ । यिनै बालबालिकाहरुलाई पठन संस्कृति विकास गर्न भन्दै बुटवलका ३ युवाहरुले मिनि मोबाईल पुस्तक नाममा विद्यालय पुस्तक प्रदर्शनी यात्रा २०८० चलाईरहेका छन् ।
जसमा हुन विशाल पुस्तक सदनका दिपेन्द्र जिसि, बुटवल बुक्स मार्टका गोविन्द ज्ञवाली, ग्यालेक्सी बुक्सका कृष्ण बहादुर कार्की (राजु) । ब्यापार ब्यवसायभन्दा पनि बालबालिकाहरुमा बढ्दो मोबाईल मोह न्युन गर्न अभियान थालेको ग्यालेक्सी बुक्सका कृष्ण बहादुर कार्की (राजु) ले बताए ।
विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई पढ्न जरुरी छ भन्ने सन्देश दिन आफुहरु लागेको उनले बताए । प्रदर्शनीमा कथा, सामान्यज्ञान, जीवनी, साहित्य, स्वस्थ्य सचेतना, गजल, कविता लगायत धेरै प्रकारका २ हजार बढी पुस्तकहरु छन् । कोर्स भन्दा बाहिरका धेरै ज्ञानमूलक पुस्तकहरु राखिएको हुँदा धेरैले मन पराएको उनले बताए । ‘न्यु लाईटमा पुस १३ गतेबाट हामीले यो अभियान शुरु गरेका हौं’–उनले भने । अहिलेसम्म सिद्धार्थ बोर्डिङ स्कुल, प्यारामाउण्ट, न्यु लाईट, गार्गी, होराइजन जिविएस, लुम्बिनी वर्ड, न्यु ईनभारनमेन्ट, अन्नपूर्ण, स्कलर्स, युनाईटेड ईङ्लिश बोर्डिङ स्कुल गरी रुपन्देही र कपिलबस्तुका धेरै विद्यालयमा प्रदर्शनी चलाईएको छ ।
अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले बालबालिकाहरुलाई केवल किताबी सिकाई पर्याप्त नहुने बताउँछन् । विद्यालयमा भाषा, धर्म, संस्कृति, कलाको परिचय गराउने नृत्य कार्यक्रम मात्र नभई खेलकुदका प्रशिक्षक राखेर नै प्रशिक्षण गराउँदा यसले बालबालिकाको शैक्षिक नतिजा उत्कृष्ट भएको दाबी गरे । प्रविधि विकाससंगै बालबालिकाहरुमा यसप्रति ज्ञान हुनु जरुरी हुने भन्दै यसलाई कसरी लिने भन्नेमा अभिभावक, शिक्षकहरु समेत हुनुपर्ने उनले सुझाव दिए । पुस्तक प्रदर्शनी एउटा महत्वपूर्ण पाटाका रुपमा चलाउँदा यसले सकारात्मक फाईदा मिलेको उनले बताए ।