© २०२३
बुटवल, १४ माघ ।
‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौ, मर्यादित व्यवहार गरौ’ नारासहित ७१ औ विश्व कुष्ठरोग दिवस आइतबार विश्वभर मनाइएको छ ।
सन २०१० मा नेपालबाट कुष्ठरोगको ‘निवारण’ भयो भनेर घोषणा गरियो । कुष्ठरोगलाई उन्मुलन घोषणा गर्ने गरी लक्ष्य बोकेको बेला देशका १४ वटा जिल्लाहरुमा कुष्ठरोग उच्च भेटिएको छ । भारतसँंग खुला सिमा जोडिएको तराईका जिल्लाहरुमा कुष्ठरोगीको पहिचान हुने क्रम बढेको हो । विश्वभरमा नयाँ कुष्ठरोगीका बिरामी पत्ता लाग्ने क्रममा धेरै संक्रमण भारत, ब्राजिल तथा इन्डोनेसियामा देखिएको छ । छिमेकी राष्ट्र भारतमा यसको ठूलो प्रभाव रहेकाले पनि नेपालमा कुष्ठरोगको पूर्ण उन्मूलन चुनौतीपूर्ण देखिएको छ ।
निवारण भनिएको नेपालको लुम्बिनी प्रदेशमा कुष्ठरोग प्रसारको दर प्रति १ हजारमा १.०८ छ । यसैगरी प्रदेशमा चार जिल्लाहरु रुपन्देहीमा १.२, कपिलबस्तुमा २.४, नवलपरासीमा १.८ र बाँकेमा १.३ प्रसार दर रहेको छ । अझ यसमा पनि बालबालिकाहरुमा नयाँ कुष्ठ रोगीहरु भेटिने दर धेरै हुनुले यी जिल्लाहरुमा लुकेर रहेका कुष्ठरोगीलाई इगित गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका छालारोग विशेषज्ञ डा कमल आचार्य बताउँछन् ।
‘बालबालिकामा कुष्ठरोग देखिनु समुदायमा कुष्ठरोगको बिरामी भएको स्पष्ट गर्छ’—उनले भने । समुदायमा हुने प्रसारलाई रोक्ने जिम्मेवारी सबैको भएको उनले बताए । कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । जसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेसीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा, कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुन सक्छ । कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्कबाट सर्छ ।
आर्थिक वर्ष २०८०÷२०८१ को चार महिनामा १ सय ४८ जना नयाँ भेटिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷२०८० मा ५ सय ६५ जना भेटिएको थियो जुन प्रतिशत एक हजारमा १ जनाभन्दा बढी हो । आर्थिक वर्ष २०७९÷२०८० मा बालबालिकामा नया कुष्ठरोगी भेटिने प्रतिशत ६.९ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्ष २०७८÷२०७९ भन्दा ४ प्रतिशतले बढी हो ।
लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयका खिमलाल पाण्डेले देशका १४ वटा जिल्लामा कुष्ठरोग उच्च रहेको बताए । देशका ३४२ वटा पालिकामा कुष्ठरोग शून्य छ । तराईमात्र नभई अर्घाखाँची जिल्लामा समेत पछिल्लो ६ महिनामा १२ वटा नया केशहरु भेटिएको उनले बताए ।
कुष्ठरोगको फैलावटलाई कम गरेर निवारणको नेपाल सरकार १० वटा लक्ष्यसहित अभियान थालेको छ । सन २०३० सम्ममा एउटा ब्यक्तिबाट अर्कोमा सर्ने दर शून्य बनाउने र अपहेलनालाई हटाउने गरि सरकारको लक्ष्य लिएको छ । तर नया भेटिने संख्या हेर्दा २ प्रतिशतमा जाने डर देखिएको उनले बताए ।
फेयर मेडका पश्चिमाञ्चल प्रमुख शशी लाल कर्णले कुष्ठरोगको किटाणु पत्ता लागेको र निको हुने रोग भएपनि लुकाउने प्रवृत्ति समाजमा धेरै रहेको बताए । नेपालमा प्रत्येक वर्ष ३ हजारभन्दा कम नघटेको उनले दाबी गरे । तराईका जिल्लामा यो समस्याका रुपमा देखा परेको उनले बताए । उपेक्षित उष्ण प्रदेशिय रोगमा कुष्ठरोग पर्ने भएकाले पनि यसलाईसंगै जोडेर समुदायस्तरमा सचेतना जगाउने गरि अघि बढाउन जरुरी रहेको उनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका छालारोग विशेषज्ञ डा कमल आचार्यले लाटोफुर्सो दाग देखिएमा यसलाई तुरुन्त जाँच गर्न सुझाव दिन्छन् । स्वाश्वप्रश्वासबाट सर्न सक्ने रोग हँुदा सचेत बन्दै समयमा उपचारमा लाग्नुपर्ने उनले बताए । कुष्ठरोगको वर्गीकरण आवश्यक रहेको उनले बताए । सरकारबाट यसलाई नेगलेटेड रोगभित्र राख्दा अझ ओझेलमा परेको उनले दाबी छ । प्रदेश र स्थानीय सरकारको स्वस्थ्यमा यो बुझाउन अझै कठिन रहेको उनले बताए ।
जिल्लामा छालारोग चिकित्सकको दरबन्दी नै नरहेको उनले बताए । घरघरमा पुग्ने स्वयंसेविकाहरुलाई अभिमुखिकरणमा जोड दिनुपर्ने बताए । ‘यो ब्यक्तिको नभई समुदायको रोग हो’—उनले भने । सरकार कुष्ठरोग पत्ता लगाउने, उपचार गर्ने र उनीहरुलाई आयआर्जनमा जोड्ने गरी परियोजना ल्याएमात्र सर्ने दर घट्ने उनको तर्क छ । यो एकदिन औषधी खाएर निको नहुने, लामोसमय उपचारमा लाग्नुपर्ने रोग भएको उनले बताए । ‘कम्तिमा २ वर्ष औषधि खानुपर्ने, लामोसमय उपचारमा रहनुपर्ने हुन्छ’—उनले भने । कुष्ठरोग पत्ता लगाउनुमात्र नभई उनिहरुलाई आयआर्जनमा जोड्ने गरि सरकारबाट परियोजनाहरु ल्याउन सकेमात्र सफल हुने उनले बताए ।
देवानी संहितामा कुष्ठरोग भएकाहरुको विवाह गराउन नहुने लेखिएको छ जुन गलत रहेको छ । यसलाई छिटोभन्दा छिटो संशोधन गर्न जरुरी रहेको तर्क दिए ।
यसैबिच कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौ, मर्यादित व्यवहार गरौ नारासहित ७१ औ विश्व कुष्ठरोग दिवस माघ १४ र विश्व उपेक्षित उष्ण प्रदेशिय रोगहरुको दिवसको पुर्वसन्ध्यामा फेयर मेड, ईन्द्रेणी ग्रामिण विकास केन्द्र नेपाल सहयोग÷समन्वय तथा लुम्बिनी प्रादेशिक अस्पतालको आयोजनामा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयका खिमलाल पाण्डेले कुष्ठरोग निवारणमा कानुन बाधक रहेको बताए । कुष्ठरोग भएकाहरुको विवाह गराउन हुदैन भन्ने देवानी संहितालाई संशोधन गर्न जरुरी रहेको उनको तर्क छ । स्वस्थ्य उपचार पछि निको हुन्छ भनेर चिकित्सकहरु सेवा गर्ने तर कानुनमा भने त्यो लेखिनु गलत भएको उनले बताए । छालारोग विशेषज्ञहरुको पर्याप्त नहुदा पनि रोगको पहिचानको समस्या रहेको उनले बताए ।
उपेक्षित उष्ण प्रदेशिय रोग विभागका फोकलपर्सन दयासागर पन्थीले ‘उपेक्षित उष्णाप्रदेशिय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ नारासहित विश्व उपेक्षित उष्ण प्रदेशिय रोगहरुको दिवस १६ मनाउने तयारी रहेको उनले बताए ।
यता लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेका कुष्ठरोगबाट समस्या भोगेका कपिलबस्तु विजयनगरका रामधिरज यादव समयमा नै उपचार पाउदा राहत मिलेको बताए । ‘म नियमित उपचार गराएको छु ।’—उनले भने । शुरुमा हातखुट्टामा दाद देखिएको र जाच गरेर कुष्ठरोग पहिचान भएपनि उपचार गराएपछि निको हुदै गएको उनले बताए ।
कार्यक्रममा आईआरसिडिका अध्यक्ष महेन्द्र पाण्डेले विश्वबाट नै कुष्ठरोग निवारण गर्ने प्रण गरेको देशमा नेपाल पनि भएको भन्दै यसमा सबै सरोकारवाला लाग्नुपर्ने बताए । एक हजार मध्येमा एकमा देखिनेमा यो भन्दा बढी रहेको छ । कुष्ठरोगीहरुलाई समुदायमा जोड्ने गरि काम अघि बढाउन जरुरी रहेको उनले बताए । कुष्ठरोग मुक्त समाज निर्माण गर्न सबैको हातोमालो जरुरी रहेको उनले बताए । १६ वटै पालिकाहरुको स्वस्थ्य संस्थाहरुबिच समन्वय गर्दै अध्ययन, अनुसन्धानको रुपमा अघि बढाउन जरुरी रहेको बताए ।