© २०२३
फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन मलाई अहिलेसम्म राम्ररी याद छ ।
म ६ वर्षको थिएँ । स्कूलमा हाफ छुट्टी भएका बेला खाजा खान घर गएको थिएँ । मेरो आमाले हरेक दिन दिने खाजा उही हो, दुध र पाउरोटी । सानो हुँदा त्यो बाहेक अरु हामी सोच्दा पनि सोच्दैन थियौं । अहिले सम्झँदा लाग्छ, हामीले सक्ने नै त्यही थियो ।
त्यो दिन म घर आएर सिधै भान्सामा गएँ । आमा फ्रिजको अगाडि दुधको बट्टा लिएर बसिरहनुभएको थियो । सधैँ नै उस्तै हो । तर, त्यो दिन आमा दुधमा केही मिसाएर हल्लाइरहनुभएको थियो । त्यसपछि उहाँले मेरो लागि खाजा ल्याइदिनु भयो । उहाँ सबैकुरा ठीक छ झैँ मुस्कुराइ रहनुभएको थियो ।
तर के भएको रहेछ मैले बुझि हालेँ । उहाँले दुधमा पानी मिसाएर घोल्नुभएको रहेछ । हामी हप्ताभर राम्रो दुध खान सक्ने थिएनौं । आमाले त्यो दिन दुधमा पानी मिसाउनुभएको देखेर मलाई हाम्रो गरिबी थाहा भयो । गरिबी मात्रै होइन हामी टुटेका थियौं ।
मेरा बुबा व्यावसायिक फुटबलर नै हो । तर, उहाँ आफ्नो खेल जीवनको अन्त्यतिर हुनुहुन्थ्यो । सबै पैसा सकिएको थियो । हरेक कुरामा हामी सामान्य भएर बसिरहेका थियौं ।
घरमा टेलिभिजनको केबल छुट्यो । टीभीमा फुटबल हेर्ने बानी छुट्यो । खेल हुने दिनमा पनि यत्तिकै बसिरहेका हुन्थ्यौं । कति समय त बिजुली बत्ती हुँदैन थियो । दुई तीन हप्तासम्म पनि अन्धकारमा बस्नुपर्थ्यो । नुहाउन जाँदा पानी हुँदैनथ्यो । भाँडामा पानी तताएर आमाले सानो कपले टाउकोमा पानी हालिदिनु हुन्थ्यो ।
मेरा आमाले हाम्रा लागि उधारोमा पाउरोटी ल्याउन थाल्नुभयो । पाउरोटी बेच्नेले म र मेरो सानो भाइलाई चिनेको थियो । यसैले शुक्रबारसम्म पैसा तिर्ने गरी सोमबार उसले आमालाई पाउरोटी दिन्थ्यो ।
मलाई थाहा थियो, हामी एकदमै संघर्षमा बाँचिरहेका छौं । तर जब आमाले दुधमा पानी मिसाइरहेको देखेँ, मलाई लाग्यो अब त सबै सकियो । मैले के भन्न खोजेको तपाइँले बुझ्नुभयो होला । यस्तै थियो हाम्रो जीन्दगी ।
त्यो बेला मैले आमालाई केही भनिन् । उहाँलाई चिन्ता हुने केही कुरा म गर्दिनथेँ । मैले चुपचाप खाजा खाएँ । त्यो बेला कसैले मेरो गालामा झापड हानेर बुझाइँदिए जस्तो भएको थियो । भगवान कसम ! त्यही दिन मैले मनमनै सोचिसकेको थिएँ, अब केही गर्नुपर्छ ।
मेरो आमा त्यसरी बाँचिरहेको हेर्न म सक्दैन थिएँ । अहँ सक्दै सक्दैन थिएँ ।
फुटबलमा रहेका मानिसहरु मानसिक शक्तिका बारेमा धेरै कुरा गर्छन् । तपाइँले देखेभरिमा मानसिक रुपमा बलियो व्यक्ति म नै हुँ जस्तो लाग्छ । किनभने आमा र भाइसँग बसेका अँध्यारा दिनहरु मलाई अझै याद छ । हरेक दिन राम्रो दिनका लागि प्रार्थना गर्नु, सोच्नु, विश्वास गर्नु, केही राम्रो हुन्छ भन्ने आश गर्नु ।
केही गर्छु भनेर मैले आफैसँग गरेको वाचा मनमै थियो । एकदिन घर र्फकंदा मैले मेरो आमा रोइरहेको देखेँ । त्यसपछि मैले आमालाई भनि हालेँ, ‘आमा, यो सब फेरिने छ । तपाइँ हेर्दै जानुस् । म एन्डरलेच्टबाट फुटबल खेल्नेछु, यो छिट्टै हुनेछ । हाम्रो दुःखका दिनहरु सकिँदै छन् ।’
म ६ वर्षको थिएँ ।
मैले बुबालाई सोधेँ, तपाइँले कति वर्ष हुँदादेखि व्यावसायिक फुटबल खेल्न थाल्नुभयो ?
उहाँले भन्नुभयो – १६ वर्षको हुँदादेखि
मैले भनेँ – ल ठीक छ, १६ वर्ष
के भने, मेरा लागि हरेक खेल फाइनल जस्तै हो । जब म पार्कको कुनै चौरमा खेलिरहेको हुन्छु, त्यो मेरो फाइनल खेल हो ।
स्कूलमा हुँदा हाफ छुट्टीमा खेल्दा त्यही नै फाइनल खेल हो । जब म बल खेल्छु, एकदमै गम्भीर हुन्छु । हरेक पटक बल हान्दा त्यसको बाहिरी खोल च्यातिओस् जस्तो लाग्छ । त्यही सोचेर पूरा शक्ति लगाएर हानिरहेको हुन्छु ।
म मेरै उमेरका अरुभन्दा अग्लो थिएँ । केही स्कूलका सर र अन्य मान्छेलाई पनि मेरो उमेर अलि धेरै होला भन्ने नै लाग्थ्यो । उनीहरु मलाई बढी उमेरको होला भन्ने कुरामा जोड पनि दिन्थे । पहिलोपटक मलाई कसैले ‘ओइ, त कति वर्षको ? कुन सालमा जन्मेको ल भन त ?’ भनेको कहिल्यै बिर्सन्नँ ।
मलाई के सोध्या होला जस्तो लाग्थ्यो ।
म ११ वर्षको हुँदा लिइर्से क्लबको युथ टिमबाट खेल्न थालेको थिएँ । एकपटक अर्को टिमको खेलाडीको एकजना अभिभावकले मलाई मैदानमा जानबाट रोकिरहेका थिए । ‘यो केटो कति वर्षको हो र ? यसको परिचय पत्र खै ? कहाँबाट आएको यो ?’ तिनले त्यस्तो भनेको मलाई याद छ ।
म सोच्थेँ, म कहाँबाट आएको रे ? के सोधेको यस्तो ? म यहीँ बेल्जियमको एन्टव्रेपमा जन्मिएको हुँ, यहीँको हुँ म ।
मेरो अभिभावक त्यहाँ थिएनन् । किनभने त्यति टाढा जानका लागि मेरो बुबासँग कुनै सवारी साधन थिएन । म एक्लै थिएँ । यसैले मेरो लागि म आफैं बोल्नुपर्ने भयो । झोला राखेको ठाउँमा गएर मैले परिचय पत्र झिकेर ल्याएँ अनि एक अभिभावकलाई हेर्न दिएँ । उनले हेरेर सबैलाई पास गर्दै त्यो परिचय पत्र देखाए ।
त्यो बेला मलाई एकदमै रिस उठ्यो । पख, तिमीहरुको छोरालाई यसरी हराउँछु नि भन्ने भावना मभित्र आइरहेको थियो । तिमीले तिम्रो छोरालाई घर लिएर जाँदा रुँदै जानेछौ भन्ने मेरो मनमा लागेको थियो ।
म बेल्जियन इतिहासकै उत्कृष्ट खेलाडी बन्न चाहन्थेँ । मेरो लक्ष्य नै त्यही थियो, राम्रो र महान होइन, आफ्नो देशकै उत्कृष्ट ।
त्यो समय फुटबल खेल्दा म अलि रिसाहा थिएँ । त्यसमा धेरै कारण छन् । हामी बस्ने अपार्टमेन्टको जताजतै कुदिरहेका मुसा, घरमा केबल टेलिभिजन नभएर हेर्न नपाएको च्याम्पियन्स लिग, अनि … अरुका अभिभावकले मलाई हेर्ने दृष्टिकोण र मप्रति गर्ने व्यवहार । यस्तै कुराले मलाई खेलमा रिसाहा बनाइरहेको थियो ।
म एउटा मिसन लिएर बढिरहेको थिएँ । जब म १२ वर्षको थिएँ ३४ खेलमा मैले ७६ गोल गरेको थिएँ । त्यो सबै ७६ गोल मैले मेरो बुबाको पुरानो जुत्ता लगाएर हानेको थिएँ । जब हामीलाई एउटै साइजको जुत्ता मिल्न थाल्यो, मैले बुबाकै जुत्ता लगाएको थिएँ ।
एकदिन मलाई मेरो हजुरबा (आमाको बुबा) ले बोलाउनुभयो । उहाँ मेरो जीवनको एकदमै महत्वपूर्ण मान्छे हुनुहुन्छ । मेरो हजुरबा कंगोको हुनुहुन्छ । उहाँ कंगोमै हुँदा मैले एकपटक फोन गरेको थिएँ, ‘मैले ७६ गोल गरेँ । हामीले लिग जित्यौं । ठूला टिमहरुले मलाई हेरिरहेका छन् ।’
हरेक दिन नै उहाँ मेरो फुटबल खेलबारे सुन्न चाहनु हुन्थ्यो । तर, त्यो दिन उहाँले भन्नुभयो, ल, रोम एकदमै राम्रो गरेछौँ । तिमी मेरो लागि एउटा काम गरिदिन सक्छौ ?’
मैले भनेँ, भन्नुस् न के काम हो ?
उहाँले भन्नुभयो, तिमी मेरो छोरीको ख्याल राख है बाबु
मलाई हजुरबाले के भन्नुभएको होला ? कसको कुरा गर्नुभएको होला जस्तो भयो ।
मैले भनेँ, आमाको कुरा गर्नुभएको ? अँ हामी एकदमै ठीक छौं । राम्ररी बसिरहेका छौँ ।
उहाँले भन्नुभयो, होइन, मलाई वचन देऊ । कसम खाउ कि तिमी मेरो छोरीको राम्ररी ख्याल गर्नेछौ । हस् ?
मैले भनेँ, हुन्छ हजुरबा मैले बुझेँ । वचन दिन्छु म आमाको राम्ररी ख्याल गर्छु ।
त्यसो भनेको पाँच दिनपछि हजुरबा बित्नुभयो । मैले उहाँले के भन्नुभएको रहेछ भन्ने बल्ल राम्ररी बुझेँ ।
मलाई त्यो सम्झेर एकदमै दुःख लाग्यो । उहाँ चार वर्ष बाँच्नुभएको भए, मैले एन्डरलेच्टमा फुटबल खेलेको हेर्न पाउनु हुन्थ्यो ।
मैले मेरो आमालाई भनेको थिएँ, १६ वर्षको भएपछि एन्डरलेच्टमा खेल्नेछु ।
त्यसका लागि ११ दिन बाँकी थियो ।
सन् २००९, मे २४
प्ले अफको फाइनल खेल । एन्डरलेच्ट भर्सेस स्ट्याडर्ड लिगी ।
त्यो मेरो जीवनको अनौठो दिन हो । सिजन सुरु हुँदा मैले मुस्किलले एन्डरलेच्टको यु-१९ टिमबाट केही खेल खेलेको थिएँ । अझै यु-१९ को नि बेञ्चमै छु, यसरी त मैले कसरी ठूलो टिमबाट म १६ वर्षको हुँदा सम्झौता गर्छु भनेर मलाई चिन्ता परेको थियो ।
यसैले मैले मेरो प्रशिक्षकसँग बाजी लगाएँ ।
मैले उहाँलाई भनेँ, ‘तपाइँले मलाई खेलाउनुभयो भने म डिसेम्बरभन्दा अघि टिमको लागि २५ गोल गर्छु ।
उहाँ मेरो कुरा सुनेर हाँस्नुभयो ।
मैले भनेँ, तपाइँलाई विश्वास लागेन ? ल बाजी थापम न त ।
उहाँले भन्नुभयो, तर तिमीले २५ गोल गरेनौँ भने चाहीँ सधैँ बेञ्चमै हुन्छौ नि ।
मैले भनें, ल ठीक छ । तर मैले जितेँ भने तपाइँले अर्को काम पनि गर्नुपर्छ । खेलाडीहरुलाई घरबाट मैदानसम्म ल्याउने त्यो भ्यान सफा पारिदिनुपर्छ ।
उहाँले भन्नुभयो, ल हुन्छ पक्का ।
मैले भनेँ, अर्को पनि छ । मैले जितेँ भने तपाइँले हामीलाई हरेक दिन केक बनाएर खुवाउनुपर्छ ।
उहाँले भन्नुभयो, ल ल ठीक छ बनाम्ला ।
त्यो मेरो जीवनकै अनौठो बाजी थियो ।
नोबेम्बरमै मैले २५ गोल गरिसकेको थिएँ । अनि हरेक दिन प्रशिक्षकले बनाएको केक खाँदै थियौं हामी ।
एउटा पाठ के भने, एउटा भोकाएको केटोले भनेको कुरालाई कहिल्यै मजाक सोच्नु हुँदैन ।
त्यसपछि मैले एन्डरलेच्टसँग सम्झौता पनि गरेँ । त्यही दिन मैले फिफा भिडियो गेम ल्याएँ र घरमा केबल पनि जोडेँ ।
सिजनको अन्त्य भइसकेको थियो । म घरमै रमाइलो गर्दै बसिरहेको थिएँ । तर, बेल्जियन लिग भने नयाँ ठाउँमा पुगेको थियो । किनभने, लिग सकिँदा पनि एन्डरलेच्ट र स्ट्याडर्ड लिगिको अंक बराबरी भएको थियो । यसैले उपाधिका लागि दुई लेगको प्लेअफ हुँदै थियो ।
पहिलो लेगमा म घरमा बसेर समर्थकले जसरी नै टीभीमा खेल हेरिरहेको थिएँ ।
दोस्रो लेग सुरु हुनु एक दिनअघि प्रशिक्षकले फोन गरेर मलाई बोलाए ।
हेल्लो …
‘हेल्लो रोम के गर्दै छौ तिमी ?
पार्कमा फुटबल खेल्न निस्किन लागेको म त ।
‘ल ल ल त्यसरी हुँदैन । छिटो झोला मिलाइ हाल त ।’
के भन्नुभाको ? किन र ?
‘हुँदैन हुँदैन तिमी या रंगशाला आइहाल त । तिमी यहाँ टिममा चाहियो ।’
लौ के भन्नुभा ? म ?
‘अँ तिमी । ल आइहाल ।’
प्रशिक्षकसँग फोन गरिसकेर निस्कन लाग्दा म बुबाको कोठामा चिप्लिएर लडेको थिएँ । एकदमै खुशी लाग्यो । ‘केटो अब तेरो दिन आयो भन्ने लागिरहेको थियो ।
म रंगशालामा पुगेँ । सिधै दौडदै डे्रसिङ रुममा गएँ ।
त्यहाँ किटम्यानले भनेका थिए, कुन नम्बरको जर्सी हो तिम्रो ?
मैले भनेँ, १० नम्बरको दिनु न ।
त्यो समय मलाई केही कुराको डर थिएन । सायद डराउनका लागि मेरो उमेर अलि कम नै थियो । मलाई खासै अरु कुराको वास्ता थिएन ।
उनले भने, फुटबल एकेडेमीका खेलाडीहरुलाई ३० कि त्यो भन्दा माथिको जर्सी हुन्छ ।
मैले भनेँ, ल ठीक छ । ३ मा ६ जोड्दा ९ हुन्छ । दामी नम्बर । मलाई ३६ नम्बरको जर्सी दिनुस् ।
त्यो रात खाना खाने बेलामा सिनियर खेलाडीहरुले मलाई गीत गाउन भनेका थिए । कुन गीत गाएँ भन्ने त मलाई याद छैन तर, त्यो बेला गीत गाउँदा मेरो टाउको हल्लिरहेको थियो ।
अर्को दिन बिहान पार्कमा फुटबल खेल्न जान भनेर मेरो साथीहरु घरमा बोलाउन गएका रहेछन् । आमाले ढोका खोलेर म खेल्न गइसकेको भनिदिनु भयो ।
साथीहरुले सोधे, खेल्न ? कहाँ ?
आमाले भन्नुभयो, फाइनल खेल्न ।
हामी होटलबाट बसमा चढेर रंगशाला जाँदै थियौं । सबै खेलाडी सुट पाइन्टमा थिए । म भने ट्रयाक सुट लगाएर गइरहेको थिएँ । बसबाट ओर्लने बित्तिकै टीभी क्यामराहरु मेरो अनुहारमै झोसिएका थिए । त्यहाँबाट लकर रुम जान पनि टाढै रहेछ । म त्यहाँ पुग्नका लागि तीन मिनेट जति हिँड्दा मेरो फोन बजेको बज्यै थियो । ३ मिनेटमा २५ त म्यासेज नै आइसकेको रहेछ । मेरो साथीहरु टीभीमा मलाई हेरेर पागल भएका रहेछन् ।
‘तिमी त्यहाँ फाइनलमा के गर्न गा’को ?’
‘रोम, के हुँदैछ ? तिमी किन टीभीमा ?’
मैले मेरो सबैभन्दा मिल्ने साथीलाई मात्र म्यासेजको रिप्लाइ दिएँ । ‘के भएको हो केही थाहा छैन । म यहाँ छु । खेल्न पाउँछु कि पाउँदिन पनि थाहा छैन । जे होस् टीभी हेर्दै गर ।’
खेलको ६३ औँ मिनेटमा प्रशिक्षकले मलाई मैदान छिराए ।
म एन्डरलेच्टको लागि दौडदै मैदान प्रवेश गरिरहँदा १६ वर्ष ११ दिनको भएको थिएँ ।
फाइनल खेलमा हामी पराजित भयौँ । तर मैले आफूलाई स्वर्ग पुगेको अनुभव गरिरहेको थिएँ । मैले आˆनो आमा र हजुरबालाई दिएको वचन पूरा गर्दै थिएँ । अब सब ठीक हुन्छ भन्ने विश्वास ममा बलियो बन्यो ।
अर्को वर्ष मेरो १२ कक्षा सकिएको पनि थिएन । युरोपा लिग त्यही समय खेल्नुपर्ने थियो । मैले स्कूल जाँदा नै ठूलो झोला बोकेर गएको थिएँ । किनभने, त्यहाँबाट सिधै युरोपा लिग खेल्न एअरपोर्ट जानुपर्ने थियो । त्यो बेला हामीले ठूलो अन्तरमा लिग जितेका थियौँ । साथै अफ्रिकन प्लेयर अफ दि इयरको उपाधिमा पनि म दोस्रो भएको थिएँ ।
मैले त्यो सबै कुरा हुन्छ भन्ने सोचेको थिएँ । तर, यति छिटै होला भन्ने सोचेको थिइनँ । एक्कासी मिडियाहरुमा म छाउन थालेँ । त्यसले मेरा लागि चुनौतीहरु झनै थप्दै गयो । मबाट अपेक्षाहरु पनि बढ्दै गए । विशेष गरी राष्ट्रिय टिममा मबाट अपेक्षा धेरै थियो । तर, खै किन हो मैले राष्ट्रिय टिमबाट राम्रो गर्न सकिरहेको थिइनँ ।
तर, केही छैन । म १७, १८ हुँदै १९ वर्षको भएँ ।
सबै कुरा राम्रै भइरहेको थियो । एकदिन म पत्रिका पढिरहेको थिएँ । त्यहाँ लेखिएको थियो, रोमेलु लुकाकु एक बेल्जियन स्ट्राइकर ।
राम्रो खेल हुन नसकेको बेला पत्रिकाहरुमा पनि रोमेलु लुकाकु कंगोलियन मुलका बेल्जियन स्ट्राइकर लेखिएको हुन्थ्यो ।
यदि तपाइँलाई मेरो खेल मन पर्दैन भने ठीक छ । तर म कंगोको होइन । म यहीँ बेल्जियममा जन्मिएको हुँ । एन्टव्रेपमा हुर्किएको हुँ । मेरो सपना एन्डरलेच्टमा खेल्नेबाट सुरु भएको हो । भिन्सेन्ट कम्पनी जस्तो हुने सपना देखेको हो । म बोल्दा फ्रेन्च शब्दबाट सुरु हुँदै डचसम्म पनि पुग्थेँ । स्पेनिस र पोर्चुगिज हुँदै लिंगाला पनि बोल्थेँ । यो सबै हाम्रो छिमेकीहरु जस्ता छन् उस्तै भएको हो ।
म बेल्जियन हुँ । हामी सबै बेल्नियन हौँ । यही कुराले त एउटा राष्ट्र साचो अर्थमा राष्ट्र बन्छ ।
मेरै देशका केही मान्छे किन म कमजोर भएको, राम्रो नखेलेको हेर्न चाहन्छन् मैले बुझेको छैन । जब म चेल्सीमा गएर बेञ्चमा थिएँ, उनीहरु मलाई हेरेर जिस्काउँथे । जब लोनमा म वेस्टब्रुम गएँ, उनीहरु मलाई हेरेर हाँसिरहेका थिए ।
तर केही छैन, तिनीहरु मैले दुधमा पानी मिसाएर उधारो पाउरोटी खाइरहँदा पनि मसँग थिएनन् । मेरो दुःख दिनमा मसँग नभएका उनीहरुले मलाई कसरी पो बुझुन् ।
तपाइँलाई थाहा छ ? म सानो हुँदा च्याम्पियन्स लिगको १० सिजन मैले टीभीमा पनि हेर्न पाएको थिइनँ । केबल जोड्न नसकेर हामी त्यो हेर्न सक्दैन थियौँ ।
म स्कूलमा जाँदा सबै साथीहरु च्याम्पियन्स लिगबारे कुरा गरिरहेका हुन्थे । मलाई के भएको हो केही थाहा हुँदैन थियो ।
सन् २००२ मा हो, मड्रिडको लिभरकुसनसँग खेल थियो । स्कूलमा सबै जना ‘भलि सट वाउ क्या दामी सट’ भन्दै कुरा गरिरहेका हुन्थे । तर उनीहरुले जे कुरा गसररहेका छन्, त्यो मलाई थाहा छ जस्तै गरी म कुरा गरिदिन्थेँ ।
त्यसको दुई हप्तापछि कम्प्युटरको कक्षा हुँदा मेरो एउटा साथीले भिडियो डाउनलोड गर्यो । मैले बल्ल त्यतिबेला हेर्न पाएँ, जिदानले कसरी गोल गरेका रहेछन् । साथीहरुले केसको कुरा गरेका रहेछन् ।
त्यसको केही समय पछि म त्यही साथीको घरमा गएको थिएँ । किनभने २००२ को विश्वकप चलिरहेको थियो । त्यो हेर्न घरमा सम्भव थिएन । रोनाल्डोले कसरी ब्राजिललाई विश्वकप जिताए त्यो मैले हेर्न पाएँ । त्यसअघि सबै कुरा स्कूलमा साथीहरुले भनेको आधारमा मैले बुझिरहेको थिएँ ।
मलाई याद छ, २००२ मा मेरो जुत्तामा प्वाल परेको थियो । ठूलो प्वाल ।
त्यसको १२ वर्षपछि म आफैं विश्वकप खेल्दै थिएँ । अहिले अर्को विश्वकप पनि खेल्दैछु । अनि यसपटक मेरो भाइ पनि मसँगै खेल्दैछ ।
एउटै घरबाट दुईजना उस्तै परिस्थितिको सामना गर्दै विश्वकपका लागि एउटै जर्सीमा ।
यो पटक विश्वकप धेरै रमाइलो हुनेछ । तनाव र चिन्ताहरुका लागि जीवन एकदमै छोटो छ । मान्छेहरुलाई मेरोबारे या मेरो टिमबारे जे पनि भन्ने छुट छ । त्यसले मलाई प्रभाव पार्दैन ।
समय थियो, हामी थिएरी हेनरीलाई टेलिभिजनमा पनि हेर्ने स्थितिमा थिएनौँ । अहिले हेनरी सधैँ हामी सँगै छन् । उनीसँग सिकिरहेका छौँ । म उनीसँग फुटबलबारे धेरै कुरा गरिरहेको हुन्छु ।
मलाई यो सबै हेर्न मेरो हजुरबा यहाँ भइदिनुभएको भए जस्तो लाग्छ । उहाँसँग अझै फोनमा कुरा गर्न मन लाग्छ । म उहाँलाई भन्न सकुँ, हेर्नुस् तपाइँको छोरीको मैले कति राम्ररी ख्याल राखेको छु । तपाइँलाई दिएको वचन पूरा गरेको छु । अहिले हाम्रो अपार्टमेन्टमा मुसाहरु कुद्दैनन् । अहिले भुँइमा सुत्नु परेको छैन । केही चिन्ता छैन । हामी सबै ठीक छौँ ।
अनि … उनीहरुले मेरो परिचय पत्र चेक गर्नुपर्ने आवश्यकता छैन । मलाई चिन्छन् । राम्ररी नै चिन्छन् ।
(लुकाकुले प्लेयर्स टि्रब्युनमा लेखेको लेखमा आधारित)