© २०२३
रजत महोत्सवको अवसरमा चिडियाखोला सहस्रपथमास्थित लुम्बिनी बोर्डिङ स्कुलले प्रथम लुम्बिनी कप फुटवल प्रतियोगिता २०७५ आयोजना गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आईतबार भएको उद्घाटन खेलमा लुम्बिनी बोर्डिङ स्कुलले एभरेष्ट बोर्डिङ स्कुलमाथि ४–१ गोल अन्तरको जित निकालेको हो । लुम्बिनीको जितमा गणेश पन्तले २, विकास आचार्यले र श्रीराम घिमिरेले १–१ गोल गरेका थिए । एभरेष्टका अमित दलार्मी मगरले खेलमा सान्त्वना गोल गरेका थिए । यसैगरि आईतबार नै भएको दोस्रो खेलमा स्कलर्स होम बोर्डिङ्गले अक्सफोर्ड बोर्डिङ्ग स्कुलमाथि २–० गोलको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । स्कलर्सको जितमा मनोज सिलवालले दुबै गोल गरेका थिए ।
प्रतियोगिताको लुम्बिनी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष णकृण्ण भट्टराई, मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्री र लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरी पाण्डेले उद्घाटन गर्दै शिक्षक, कर्मचारी बिचमा समन्वय, सद्भाव र मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्येश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा जिल्लाका विभिन्न ११ विद्यालयका शिक्षक, कर्मचारीहरुको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक विद्यालयको लुम्बिनी स्पोटर्स क्लबका अध्यक्ष राजकुमार पाण्डेले बताए ।
बलका लागि प्रतिस्प्रर्धा गर्दै लुम्बिनी बोर्डिङ्ग र एभरेष्ट बोर्डिङ्गका खेलाडीहरु । तस्वीर स्वस्तिक श्रेष्ठ