© २०२३
रुपन्देहीको तिलोत्तमामा रहको क्रिमशन अस्पतालको लापरवाहीले त्यहाँ सेवा लिएका डायलोसिसका विरामी अलपत्र परेका छन् । अस्पतालमा नियमित सेवा लिइरहेका कोरोना पोजेटिभ देखिएका डायलोसिस विरामीहरुलाई अस्पतालले सेवा नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
सरकारले स्पष्ट रुपमा सेवा लिइरहेका डायलोसिका विरामीमा कोरोना पोजेटिभ देखिएपनि उनिहरुलाई डायलोसिस सेवाको व्यवस्थापन सम्बन्धित अस्पतालले गर्ने निर्देशन दिएपनि मणिग्राममा रहेको क्रिमशन अस्पतालले भने सेवा दिएको छैन् । नियमित रुपमा क्रिमशन अस्पतालमा डायलोसिस गराइरहेका तिलोत्तमा ८ का एक बिरामीले पोजेटिभ देखिएपछि बिहीबारबाट डायलोसिस गर्न पाएका छैनन् । उनले डायलोसिस गर्न जादा अस्पतालले फकाईदिएको बताए । क्रिमशन जाँदा यहाँ हुँदैन भनेर फर्काइदिनुभयो, लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा क्रिमशनले नै गर्नुपर्ने हो भन्नुभयो बिरामीका आफन्त निशा पन्थले भनिन्, अब हामीले बिरामीको डायलोसिस कहाँ गर्ने ? क्रिमशन अस्पतालले बिरामीको जिम्मा सधै लिन सकिन्न भन्ने जवाफ दिएको उनले बताइन ।
क्रिमसन अस्पतालका अनुसार उक्त अस्पतालमा हाल ४२ जना बिरामीले डाइलोसिस सेवा लिइरहेका छन् । त्यसमध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको र ति विरामीलाई सेवा दिन नसकेको अस्पताल प्रशासनको भनाई छ । पोजेटिभ देखिएका बिरामीलाई डाइलोसिस गर्नका लागि आइसोलेसन नभएको कारण सेवा नदिएको अस्पतालले बताएको छ ।
नेपाल सरकारको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको निर्णयमा डायलोसिस सेवा प्रदान गरिरहेका सबै स्वास्थ्य संस्थाहरुले कोभिड १९ को शंकास्पद तथा पोजेटिभ केशहरुको समेत सेवा आन्तरिक व्यवस्थापन सोही संस्थाहरुले मिलाई सोही संस्थाहरुबाटै डायलोसिस सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले सरकारको निर्णय जुनसुकै अस्पतालले पालना गर्नुपर्ने बताए । उनले जुन अस्पतालमा डायलोसिस बिरामीले सेवा लिएको छ कोरोना पोजेटिभ देखिएको अवस्थामा पनि सेवा दिनुपर्ने बताए । गत बर्ष कोभिड १९ को समयमा डायलोसिस गर्ने बिरामीमा पोजेटिभ देखिएपछि समस्या आएको र पछि अस्पतालहरुले आफै व्यवस्थापन गरेको बताउँदै अहिले पनि सोही नियम कार्यान्वयनमा आउनुपर्ने बताए । दुइ सिफ्ट बनाएर हुन्छ वा छुट्टै डायलोसिस कक्ष बनाए बिरामीलाई नियमित सेवा दिने दायित्व सोही अस्पतालको नै भएको उनले दोहोर्याए ।
अस्पतालले सेवा नदिए त्यस्ता अस्पताललाई कार्वाही गरिने डा. पौडेलको भनाई छ । अस्पताललार्य कस्तो कार्वाही हुन्छ त ? भन्ने जिज्ञासामा उनले भने, पहिले हामी अस्पताललाई जानकारी गछौं, त्यसपछि पत्राचार गछौं त्यसपछि पनि कार्यान्वयन नगरे सम्झौता रद्द गर्ने देखि बील भुक्तानीसम्म रोक्ने प्रक्रिया अगाडी बढछ ।