© २०२३
सल्यान, १५ असार । असार १५ सम्म आइपुग्दा यस वर्ष सल्यानमा करिव ४५ प्रतिशत मात्रै धान रोपाई भएको छ । गत वर्ष भने यो समयसम्म ५५ प्रतिशत बढी क्षेत्रमा धान रोपाई सकिएको थियो । कृषि विकास कार्यालय सल्यानका अनुसार ढिलो गरी वर्षा सुरु भएका कारण धान रोपाई कम भएको हो । निमित्त कार्यालय प्रमुख रेशम कुमार वस्नेतका अनुसार सल्यानमा धान खेती हुने क्षेत्र मध्ये हाल सम्म करिव ४५ प्रतिशत क्षेत्रमा मात्रै किसानले धान रोपेका छन् । जिल्लाभर सात हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९।८० मा सात हजार ६६ हेक्टर क्षेत्रफलमा खेती भएको थियो ।
यस पटक धानखेती हुने क्षेत्र बढ्ने सम्भावना नरहेको कृषि विकास कार्यालयले जनाएको छ । आकाशे पानीको भरमा खेती हहुने गरेकाले समयमा झरी नहुनु, धान खेतमा किसानले तरकारी खेती गर्नु र कतीपय जमिन घर घडेरीमा परिणत हुनु जस्ता कारणले गर्दा पनि धान खेती हुने क्षेत्र बढ्ने सम्भावना नरहेको निमित्त कार्यालय प्रमुख वस्नेतले जानकारि दिए ।
जिल्लामा शारदा नदिको तिरमा विशेष गरी धान खेती हुने गरेको छ । शारदा नदिको क्षेत्र बागचौर नगरपालिका, शारदा नगरपालिका, सिद्ध कुमाख, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकामा धान खेती हुने गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिका, दार्मा र कुमाख गाउँपालिकामा पनि धान खेती हुनेगर्छ भने तुलनात्मक रुपमा कपुरकोट गाउँपालिकामा कम खेती हुनेगरेको कार्यालयले जनाएको छ ।
जिल्लामा केही पालिकामा चैते धान खेती पनि हुने गरेको छ । कालिमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान खेती गरेको र कतिपयले चैते धान भित्राइसकेको तथा कतीपय किसान भित्राउने तयारिमा जुटेको वस्नेतले जानकारि दिए । कुमाखमा यस वर्ष परिक्षणको रुपमा चैते धान खेती गरिएको हो ।
बर्खे धानको खेती मात्रै गर्दै आएका कृषकहरुलाई चैते धानको खेतीमा आकर्षित गर्दै उत्पादन बढाउने उद्देश्यका साथ कुमाख गाउँपालिकाको रागेचौरस्थित मर्मखोला किनारमा रहेका खेतमा चैते धानको परीक्षण खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९।०८० मा सल्यानमा ३० हजार ५ सय ६३ मेट्रिक टन धान उत्पादन भएको थियो । तर अघिल्लो वर्ष भने धान भित्राउने समयमा बेमौसमी पानी पर्दा पाकेको धान कुहिँदा उत्पादन घटेको थियो । विगत झै यस वर्ष पनि किसानले रासायनिक मल अभाव झेलिरहेका छन् ।
यसैविच सल्यानमा धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ । शुक्रबार जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने नाराको साथमा श्रीनगर स्थित धानखेतमा रोपाई महोत्सव आयोजना गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कृषि विकास कार्यालयसंगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, शारदा नगरपालिका तथा शिवजन माध्यमिक विद्यालय श्रीनगरको संयुक्त सहकार्यमा धान दिवस मनाउन लागिएको हो । कृषि विकास कार्यालयका निमित्त प्रमुख वस्नेतका अनुसार शिवजन माध्यमिक विद्यालयको खेतमा प्रविधिको प्रयोग गर्दै परिक्षणको रुपमा मेसिनबाट धान रोप्ने तयारी गरिएको छ । धान रोपाइको लागि खेतमा जानु अघि र्याली सहित श्रीनगर बजार परिक्रमा गर्ने कार्यक्रम छ । जिल्लाका स्थानीय तहले पनि आआफ्नो पालिकामा धान दिवस मनाउने तयारी गरेका छन् ।