© २०२३
कोरोना संक्रमणको महामारीमा दशैँले हाम्रो ढोका घच्घचाएको छ । दशैँ भनेकै पुस्तैनी थलो खोज्दै आफ्ना पिता पुर्खाको काखमा रमाउने, टिका जमरा थाप्ने, आषिश लिने रमाइलो गर्ने पर्व हो । नेपालमा दशैँलाई सबैभन्दा ठूलो पर्वको रुपमा लिने गरिन्छ । सरकारले पनि दशैँमा सरकारी कर्मचारीलाई १२ महिना काम गरेर १३ महिनाको तलव र लामो विदा सुविधा दिँदै आएको छ । यसको अर्थ दशैँ खानपान गर्ने पर्व हो । तीन वा चार पुस्ताका परिवार एकैठाउँमा जम्मा भएर रमाउने पर्व हो । बुढा भएका बाजे बज्यै, बाबुआमालाई न्यानो, राम्रो कपडा उपहार दिने, विरामी छन् भने औषधि मुलो गर्ने, मीठो पौष्टिक खाना खुवाउने गरेर मनाइँदै आएइको छ । यस्तो चलन विश्वका कुनै पनि मुलुकमा छैन । हुनत शास्त्रीय भाषामा दशैं क्षेत्री समुदायको पर्व हो । बर्ण विभाजनअनुसार ब्राह्मणको पर्व जनै पूर्णिमा, क्षेत्रीको दशैँ, बैश्यको तिहार र सुद्रको होली पर्व किटान गरिएको छ । ब्राह्मणको पर्व मानिएको जनै पूर्णिमाको अबसरमा दिँदै आएको विदा कटौती गरिएको छ । यसलाई सरकारले गरेको अन्याय मान्नुपर्छ । सबै बर्णका मानिसलाई समान सुविधा दिनु जरुरी छ ।
यतिबेला मुलघरमा जमरा पँहेलपुर भइसकेको छ । यसपटक कोरोना भाइरसको संक्रमणको कारणले विगतमाजस्तो भब्य दशैँ नहुने निश्चित छ । सरकारले मेला पर्वको नाममा जनतालाई जथाभाबी हिँडडुल नगर्न, जो जहाँ बसेको छ त्यहाँ सिमित परिबारमा बसेर दशैँ मनाउनु पर्ने सुचना दिइरहेको छ । तर पनि आफ्ना बाबु, बाजे, बज्यै, आमा, सासु, ससुराको हातबाट टिका जमरा थाप्न कसरी हुन्छ जाने तयारीमा मानिसहरु लागेका छन् । त्यसो त धेरै मानिसहरु योबेला काममा गएको अवस्थ छैन । त्यसैले दशैं रमाइलो पनि हुने अवस्था छ र महामारीको कारणले नरमाइलो पनि हुने अवस्था छ । गत बर्षहरुमा जुनखालको रमाइलो हुन्थ्यो दशैंमा अहिले त्यो रमाइलो निश्चितै हुँदैन । किनभने मानिसहरु आफन्त देखि पनि तर्सेको अवस्था छ ।
दशैँ हिन्दु नेपालीहरुको चाड भएकोले यसलाई सबैले उत्साहकासाथ मनाउनु पर्छ । किनभने यो नेपालीहरुको सनातनी पर्व हो । यसले नेपाली समाजको मौलिकता बोकेको छ । संस्कार र संस्कृति बोकेको छ । यसका आफ्नै पौराणिक पाटापक्ष छन् । तर, यसलाई कसरी मनाउने भन्ने मुख्य हो । मेला पर्व मनाउनुको अर्थ यो होइन कि समाजमा पाच्य नहुने काम गरेर मनाऔँ । दर्जनौँ खसी बोका काटेर भब्य समारोहको आयोजना गरेर मनाउने चलन पनि कैयौं ठूलाबडाहरुले गरेको देखिन्छ । दशैं मनाउने काममा प्रतिष्पर्धा गरेको देखिन्छ । लगातार मासु खाएर दशैं मनाउने फेशन बनेको छ । जसले गर्दा दशैं सकियो कि भोलिपल्ट देखि अस्पतालको विछौनामा पुग्नुपर्छ । दशैंलाई केही ठाउँमा, कति समुदायमा पाँच दिनसम्म पनि टिका लगाएर मनाउने प्रचलन छ । यो हट्नु पर्छ । कुनै पनि पर्व एक दिनमात्र मनाउनु पर्छ । त्यो पनि सामान्य तरिकाबाट । बलीको नाममा रगतले ढुंगा रंगाउनुको कुनै अर्थ छैन । दशैंको यो परिभाषा पनि हैन । सादा खानपान, उच्च विचार नै मानिसको परिचय हो । दशैंले यस्तो विचार सबैमा स्थापित गरोस् ।
दशैं भनेको मातृशक्तिको पर्ब हो । दानवहरुले मानवलाई बस्न, खान नदिई सताइरहेको अवस्थामा महिलाहरुले हतियार उठाएर दानवलाई परास्त गरेको कथा दशैंले बोकेको छ । अहिले पनि महिलाहरुलाई शक्ति आर्जन गर्नुपर्छ भन्दै दुर्गा, भवानी, शैलपुत्री, चामुण्डा, सिद्धिधातृ आदि देबीको उदाहरण दिने गरिन्छ । उनीहरुका गाथा सुनाइन्छ । तर, पितृसत्तात्मक समाजले उनीहरुलाई खासै कानुनी अधिकार दिएको छैन । अझ स्पष्ट भन्नुपर्दा महिलाहरु दोस्रो दर्जाका नागरिक बनेको देखिन्छ । तर, यहाँ महिलाहरुको पनि कमजोरी देखिन्छ । वर्तमान समाजमा शक्तिकेन्द्र हैन, सिंगार, भोग विलास र फेशन केन्द्र बनेके देखिन्छन् अधिकांश महिलाहरु । नेपालको बर्तमान मन्त्रीपरिषद्को बनावटलाई हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । आफ्नो पाएको अधिकार लिन सकिरहेका छैनन् महिलाहरुले । हरेक क्षेत्रमा पुरुषको बाहुल्यता छ । तर, अधिकारको लागि आन्दोलन गर्न सक्तैनन् । आवाज उठाउन चाहँदैनन् । अधिकार खोज्नेले नै नचाहेपछि पुरुषले खोजी खोजी अधिकार दिने कुरा पनि हुँदैन । दशैँको पूजा किन र कसको गरिन्छ भन्ने कुरा महिलाहरुले बुझ्ने र त्यसबाट पाठ सिक्नु पर्ने बिषय हो । मंगलमय शुभकामना ।