© २०२३
पाल्पा, ३२ जेठ ।
निस्दी गाउपालिका ४ मित्याल पाल्पाकी ७४ वर्षीया खुमकला सुनारीलाई आफनो मृत्यु पश्चात अत्येष्टीका लागि घाटसम्म लैजाने मलामी पनि हँुदैनन की भन्ने चिन्ताले सताइरहन्छ ।
गाउँमा पहिले मोटर बाटोको सुविधा थिएन । स्वास्थ्य उपचारको लागि तानसेनमा मिसन अस्पतालमै निर्भर हुने अवस्था थियो । खानेपानीको सवालमा सानो तिर्तिरे धारामा घण्टौ सम्म पालो पर्खनु पर्ने समय थियो । आजभोलि दुई घण्टाको समयमा चितवनबाट मोटर आफ्नै आँगनमा आइपुग्छ । सुविधा सम्पन्न स्वास्थ्य संस्था आफनै घर नजिक छ । खानेपानीको धारा सबैको घर घरमा पुगेका छन् । तर गाउँमा मानिस नै छैनन् । खुमकला भन्छिन्–“पछिल्लो समयमा विकास जति गाउँ गाउँमा आयो त्यति त्यति मानिस सहर च्याप्ने प्रवृत्तिले गर्दा गाउँमा मलामी पाउन कठिन भयो ।”
पछिल्लो समय सहरका तुलनामा गाउँमा धेरै विकास भएको छ । रोजगारीको खोजीमा शहर केन्द्रित हुने परिपाटीका कारण पुराना पुस्ताले आफ्ना सन्ततीका लागि दिगो व्यवस्थापन होस् भनेरै बनाएका ठुला ठुला घरहरु जीर्ण बन्दै गएका छन् । बालबालिका खेल्नका लागि होस् या अन्न पातहरु सुकाउनको लागि लागि निर्मित ठुला ठुला फराकिला घर अगाडिका आँगन यतिखेर जंगलमा रुपान्तरित हुन प्ुगेको पुराना पुस्ताको भनाई छ । मुलुक संघीयतामा प्रवेशसंगै तीनवटा सरकार निर्माण भएका छन् । तीनवटा सरकार मध्ये प्रत्यक्ष रुपमा जनतासंग जोडिने भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले आम जनताको सुविधाकै लागि भनेर विद्युतीकरण, मोटरबाटो स्वास्थ्य चौकी विद्यालयको भवन, खानेपानी जस्ता आवश्यकताको परिपुर्ती गरेको छ । तर पनि नयाँ पुस्ता गाउँबाट एकपछि अर्को गरी हराउँदै गए । स्थानीय सरकारले गाउँमै स्वरोजगारको वातावरण सिर्जनाको लागि कृषि र पशुपालनको लागि जोड दिएको छ, तर नयाँ पुस्ताले यसतर्फ रुची नदेखाउँदा मनै खिन्न हुने गरेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु बताउँछन् ।
कुनै समय नेपालकै नमुना गाविस भनिन्थ्यो मदनपोखरालाई । त्यही मदनपोखराको डाडाडुम, तीनपिप्ले गाउँका बारीका कान्लाभरी लिची पाकेर राताम्य भएका छन । तर लिची यतिखेर बाँदरका लागि मात्र भएका छन् । अधिकांश घरहरु भत्किने अवस्थामा छन् । खेति गर्दा वन्य जन्तुबाट जोगाउन कठिन भएकाले पनि पुरानो बस्ती छाड्न बाध्य भएको स्थानीयहरुको गुनासो छ । गाउँका सबै बस्तीलाई सडक संजालले जोड्यो । सूचनाको प्रविधिले सबैलाई गोलबन्द गरेको छ । विकासका गतिविधिहरु एकपछि अर्को गरी थपिदै गएका छन् । तर पनि पुरानो पुस्ताले मात्र आफ्नो थातथलोको पेटी कुरेर बसेका छन् । हुने खाने त बजार केन्द्रित भएको स्थानीय खगराज अर्याल बताउँछन् ।
मौसम अनुसारका फलफुल सबैका घर घरमा छन् । सबै कुराको सुविधा पुगेकै छ । विकासका गतिले फडको मरेकै छ । तर पनि बस्ती खाली हुने क्रम रोकिएन । वन्यजन्तु नै समस्याको प्रमुख कारक तत्व हो । यसको नियन्त्रण हुन नसके आगामी दिनहरुमा झनै भयाभह अवस्था सिर्जना हुन सक्ने पिपलडाँडाका स्थानीय नन्द बहादुर चिदी बताउँछन् ।
पहिले पहिलेको तुलनामा गाउँको विकास सयौ गुणा बढी भएको छ । पुराना पुस्ताका लागि आजको दिन सपना जस्तै लागेको छ । रोजगारीको अवसरसँगै उच्च शिक्षाका लागि शहर ताक्ने धेरै भए । गाउँमा समस्या पनि छन् । व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दा वन्य जन्तुले सताउने समस्या भएको स्थानीयहरुको गुनासो छ ।
रिब्दीकोट गाउँपालिकाले गाउँमा युवा शक्तिलाई प्रयोग गरी स्वरोजगार बनाउने भनेर कृषि र पशुपालनलाई जोड दियो । वन्यजन्तुले नोक्सान नगर्ने खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारको तर्फबाट सहयोग कायमै रहेको छ ।सहर केन्द्रित हुने क्रम पहिलेको तुलनामा कम हुँदै गएको स्थानीय सरकारका उप प्रमुख कान्ता अधिकारी बताउँछिन् ।
सरकारले वन्यजन्तु नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याउँदा सम्म गाउँका बस्ती उजाडिने क्रम चलि नै रहने छ । पछिल्लो समयमा विकास त भयो तर गरेर खान पाइँदैन त्यसैले नै समस्या पारेको हो । गाउँको बस्ती नै आत्मिय हो, तर बस्ने वातावरण नै नभएको गुनासो स्थानीयहरुको गुनासो रहेको छ ।