© २०२३
रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका अस्पतालले जानकारी दिएको छ ।
यससँगै भीम अस्पतालमा उपचारको क्रममा दोश्रो संक्रमितको मृत्यु भएको छ ।
यस अघि उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमित बिरामीले आइसियु अभावमा ज्यान गुमाएका थिए । तिलोत्तमाकी एकजना संक्रमित महिलाको भने अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो ।
मंगलबार राती मृत्यु हुने महिला लुम्बिनी प्रादेशिक अस्पतालको कारोना बिशेष अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचाररत थिइन ।
अस्पतालका अनुसार ति संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो । बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । उनमा १४ गते संक्रमण पुष्टि भएको थियो । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।