© २०२३
चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बर (२०५३ मङ्सिर १९ र २० गते) दुई दिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन् ।
दुई वर्षअगाडि तत्कालीन प्रधानमन्त्री समेत रहेका केपी ओलीको चीन भ्रमणपछि राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुने सम्भावना बढेर गएको भनिए पनि चिनियाँ राष्ट्रपति नेपाल आउन चाहेनन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति चिनफिङलाई नेपाल आउन निमन्त्रणा दिएका थिए । लुम्बिनीमा बौद्ध सम्मेलन गर्ने भन्दै अतिथिको रूपमा सहभागी हुन नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङ दुवैलाई निमन्त्रणा गरेको थियो । तर हुने भनिएको बौद्ध सम्मेलन हुन पाएन र चिनियाँ राष्ट्रपतिको भ्रमण अधुरो रह्यो ।
२०७३ को असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने तय भएको भनेर नेपाली राजनीतिमा चिया गफ हुने गरेको भएपनि चिनफिङले नेपाललाई वास्ता नगरी कम्बोडिया र बंगलादेशको भ्रमणमा निस्के ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नहुनुमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार दोषी रहेको तत्कालीन नेकपा एमालेले आरोप लगाएको थियो । त्यतिबेलाको नेपाली राजनीतिक बजारमा ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नका लागि ओली सरकार ढालिएको’ भन्ने बहस चलिरहेको थियो । जे भए पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेन, त्यसको च्याप्टर क्लोज भयो ।
यो वा त्यो कारणले नेपाल र नेपालीको मुद्दा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केन्द्रित हुने गरेको छ । भारतले नेपालमाथि लगाएको अमानवीय नाकाबन्दीपछि त झन् नेपालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जनस्तरीय मुद्दा बनेको छ ।
वर्तमान प्रधानमन्त्री केपी ओली ‘डी एरिया’मा बल लिएर पुगेका छन्, त्यसलाई गोलमा बदल्न सक्छन् या आउट हान्छन् त्यो समयले बताउला । तर लामो समयसम्म बहसमा रहेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जसरी पनि यथार्थमा परिणत गर्नुपर्ने चुनौती प्रधानमन्त्री ओलीसामु देखिएको छ ।
बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा चीनका तर्फबाट प्रधानमन्त्री वेन जिया वाओको पाँच घण्टे नेपाल भ्रमण भएको थियो । त्यो भ्रमणमा नेपालले अपेक्षा गरेअनुरुप दीर्घकालीन फाइदा हुने कुनै सम्झौता हुन सकेन ।
नेपाली काँग्रेसका नेता डाक्टर नारायण खड्काले नेपालका प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा जाँदा ‘सपिङ लिस्ट’ लिएर सुपरमार्केट गएजस्तो गरेर जान नहुने टिप्पणी गर्छन् । भारत जाँदा पनि मेगाप्रोजेक्टको लिस्ट लिएर जाने र बनाइदेउ भन्ने, चीन जाँदा पनि यो र उ बनाइदेउ मात्र भन्ने नेपालको नियति बनेको छ ।
तर द्विपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धमा उच्चस्तरीय भ्रमणले सबैभन्दा ठूलो अर्थ राख्ने गर्दछ । त्यो बाहेक अन्य सम्झौताहरू गौण हुन्छन् । प्रधानमन्त्री ओलीको काँधमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्नेछन्, त्यसलाई भविष्यको गर्भमा छाडौं ।
नेपालले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउनका लागि चीनसँगको व्यापार घाटा कम गर्ने दिशातर्फ कदम चाल्नुपर्ने चीन मामिलाका जानकार डा. युवराज संग्रौला बताउँछन् ।
चिनियाँ व्यापारीलाई नेपालमा लगानी गरून् भनेर प्रोत्साहित गर्नका लागि पनि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु अत्यावश्यक जस्तै हो भन्ने संग्रौलाको मान्यता छ । नेपालको अन्तर्राष्ट्रिय कुटनीतिको उचाई कायम गर्नको लागि पनि चिनफिङको नेपाल भ्रमण अपरिहार्य छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा सँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारसँग कुरा गर्दै चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने आश्वासन दिएको बताएका छन् । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर नेपाली जनतालाई ज्ञवालीको कुराले केहि राहत महसुस गराएको छ ।
भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक नेपाल भ्रमण गरिसके । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि नेपाल भ्रमण गरिसके । भारतको तर्फबाट भएका यी उच्चस्तरीय नेपाल भ्रमणले भारतीय छिमेकी नीतिमा नेपाल अग्रस्थानमा पर्छ भन्ने देखिएको छ ।
तुलनात्मक रूपमा नेपालमा चीनप्रति सद्भाव राख्ने जनसंख्या ठूलो छ । चीनको उच्चस्तरीय नेतृत्व यो विषयमा जानकार छ र राष्ट्रपति चिनफिङ पनि सायद जानकार होलान् । विश्वभर आक्रामक रूपमा व्यापार विस्तार गरेर व्यापार कुटनीतिको ‘टाइकुन’ मानिएको चीन केही वर्षमा विश्वको ‘सुपरपावर’ हुने धुनमा छ । सीमा जोडिएको सानो छिमेकी नेपाललाई वास्ता नगरेको भन्ने आरोपबाट नआओस् भन्नका लागि चिनियाँ नेतृत्व पनि सचेत हुनैपर्छ ।