© २०२३
बुटवल,१९ बैसाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीले ८७ सदस्यीय प्रदेश सभाका १० दलमध्ये नेकपा एमाले र राप्रपा वाहेकका ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ सांसदको मत पाएका हुन् ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए ।
चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री छन् ।
प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन् । विश्वासको मत पाएपछि मन्त्रीमण्डल बिस्तार गर्ने चौधरीको तयारी छ ।
कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्रीले विश्वासको मतपछि अब सरकार विस्तारका विषयमा छलफल सुरु हुने बताए । उनले सरकार विस्तारका लागि साना ठूला सबै दलबीचमा सहमति जुटाउनु पर्ने भएकाले केही समय लाग्न सक्ने उनले बताए ।