© २०२३
प्रदेश नं. ५ को शिक्षाको नेतृत्व गर्ने सामाजिक विकास मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा सुदर्शन बराल छन् भने शिक्षा विकास निर्देशनालयको जीतबहादुर शाहले निर्देशकको भूमिकामा नेतृत्व गरिरहेका छन् । मन्त्री बराल र निर्देशक शाहको बाल्यकालको विद्यालय यात्रा आम नेपालीको भन्दा फरक छैन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका (साबिकको हर्राचौर गाविस) झारखर्कमा जन्मिएका बराल र सल्यानको कुमाख गाउँपालिका वडा नंं. ४, पिमिले (साविकको कालागाउँ गाविस) मा जन्मिएका शाहले गाउँकै विद्यालयमा विद्यालय तहको अध्ययन गरेका थिए । जीर्ण विद्यालय भवन, धुलै धुलो र बेन्च–डेक्स बीनाका कक्षा कोठामा उनिहरुको पठन पाठन शुरु भएको थियो ।
विद्यालयको भौतिक पूर्वाधार कमजोर हुदा हुदैपनि पठन पाठनमा शिक्षक र विद्यार्थीको मिहिनेती भए सिकाई कमजोर नहुने सिकाई मन्त्री बराल र निर्देशक शाहको बाल्यकाल फर्केर हेर्दा भेटिन्छ । मन्त्री बरालले गाउँकै बालबोध प्राथमिक विद्यालयमा पठन पाठन गरेका थिए । विद्यालय ढुंगाको छानो, ढुंगा र माटोको गाहेले बनेको थियो । कक्षा कोठामा बस्नका लागि बेन्च थिएनन् । चर्के (काठे) पिङको पखेटा र काठको मुड्कामा बसेर पढेको याद मन्त्री बरालसँग छ । निर्देशक शाह पढ्ने अरनीको प्राथमिक विद्यालयको कक्षा कोठामा पनि वरिपरी भित्तासँगै जोडिएको ढुंगा माटोले उठाएकोे पेटीलाई बेन्च मानेर बस्नुपथ्यो भने भूइमै गाडेको काठ डेस्कको रुपमा थियो । विद्यालयमा शिक्षकहरु १० बजे कमै आउथे । सर किन ढिला ढिला आउनु भो भनेर सोध्ने उनिमा हिम्मत हुदैनथ्यो । उल्टो सर नआउदा पढ्न परेन भनेर हामीलाई रमाइलो लाग्थ्यो बाल्यकालको विद्यालयको पढाई सम्झदै शाहले भने । जंगल, भीर पार गर्दै विद्यालय पुग्न शाहलाई करिब एक घण्टा लाग्थ्यो । उनले सानोमा विद्यालय जादाको सम्झना सुनाउँदै भने, मेरो घर टाकुरोमा थियो । म सानो थिए अरु साथीहरु ठूला थिए । टाढाको स्कुल नियमित जादैनन्थौं । साथीहरुले बाटोमै भुलाउथे । साथीहरुले स्कुल नजानका लागि के के बाहाना बनाउथे । कहिले ढिलो भयो सरले कुट्छन भन्ने, कहिले के भन्ने गर्थे । बाटोमै खेलेर घर फर्किन्थ्यौं ।
कक्षा १ मा पढ्दा दुई बर्ष फेल भएको शाहले बताए । कक्षा १ मा तीन बर्ष पढे शाहले भने पढ्दो रैछु, परीक्षा हुदा नजादो रहेनछु अनि कहाँ पास हुनु ? ६ बर्षको उमेरका विद्यालय जान शुरु गरेका उनि आठ बर्षको उमेरमा कक्षा १ पास गरी कक्षा २ मा पुगेका थिए ।
मन्त्री बराल पनि सानोमा विद्यालय जान मान्दैनथे । विद्यालय घर नजिकै र बुबा विद्यालयको प्रधानाध्यापक भए पनि उनी विद्यालय नगई घरमै खेल्थे । स्कुल जान नमानेपछि बुबाले ढुङाको सिलोटमा घरमै अक्षर चिनाएको मन्त्री बराल बताउँछन् । स्कुलमा घण्टी लगाएको घरमै सुनिन्थ्यो बुबा हेड मास्टर उनले भने तर मैले सानोमा स्कुल जान मानिन र घरमै सिलोटमा अक्षर चिने ।
दुई पटकसम्म कक्षा १ फेल भएपनि आफै सुध्रिएको शाह बताउँछन् । एक दिन म एक्लै स्कुल जादै गर्दा मेरो मनले मलाई नै प्रश्न गर्यो उनले भने । त कति बर्षसम्म कक्षा १ मा पढ्ने ? अरु साथीले कक्षा छाडेर माथिल्लो कक्षा गए ? आफैलाई प्रश्न गरेपछि म सधै स्कुल गए । मेरै प्रश्नले म सुध्रिए । २०२८ सालतिरको कुरा सम्झिदै शाहले भने बिरामी परेको दिन बाहेक मैले कहिल्यै स्कुल छाडिन । म कहिल्यै कक्षामा सेकेण्ड भइन, सधै प्रथम भए । गाउँको दुर्गम ठाउँबाट एसएलसी दिएका उनि पहिलो डिभिजनमा पास गरेका थिए ।
मन्त्री बरालले बढेको बालबोध प्रावि अहिले कक्षा ८ सम्म पढाई हुने विद्यालय बनेको छ भने निर्देशक शाहले पढेको अरनीको प्राथमिक विद्यालय मावि बनेको छ । र पनि ति विद्यालय उनिहरुको हेराइमा सुध्रिएका नमूना विद्यालयका रुपमा रुपान्तरित हुन सकेका छैनन् । आफुहरुले अक्षर चिन्दाका अवस्थाका विद्यालय जस्तै अहिले पनि गाउँ ठाउँमा विद्यालयहरु देखेको उनिहरु बताउँछन् । पहाडी जिल्ला रुकुममा मात्र होइन तराइका गाउँहरुमा पनि त्यस्ता विद्यालय अहिले पनि देखेको मन्त्री बरालले बताए । विद्यालय शिक्षामा गर्नुपर्ने धेरै छ शिक्षाको अवस्था सम्झिदा चिन्ता लाग्छ बरालले भने त्यही धरालतमा रहेर योजना बनाउनका लागि हामी प्रयासरत छौं । शिक्षालाई प्राथमिकताको सूचीमा नपारिने चलनले गर्दा सरकार, नेता, जनता सबैबाट शिक्षाले फड्को मार्न नसकेको मन्त्री बराल बताउँछन् ।
निर्देशक शाह पनि विद्यालयहरुको अवस्था सुध्रिन नसकेकोमा चिन्ता व्यक्त गर्दछन् । मैले पढेको विद्यालय तह बढेर मावि त बनेको छ तर अवस्था त्यति राम्रो छैन् उनले भने, नेपालमा विद्यालयको औषत विद्यालय भन्दा त्यति फरक छैन् । नीति निर्मातादेखि समुदायस्तरसम्ममा शिक्षाको महत्व बुझ्न नसक्नुले नै विद्यालय शिक्षामा सुधार हुन नसकेको उनको बुझाई छ । सडक र पुल बनाउन कस्सिनेले विद्यालय बनाउन जोड गर्दैनन् कम्बल र कपडा बाड्नेले अक्षर बाँड्न रहर गर्दैनन्, कसरी शिक्षा सुध्रिनु शाह प्रश्न गर्छन् ।