© २०२३
बुटवल उपमहानगर पालिकाले बालविकास केन्द्रका बालबालिकाहरुलाई टिफिन बक्स सहित दिवा खाजाको व्यवस्थापनमा जोड दिएको छ । बालबालिकाको नियमितता र स्वास्थ्यलाई मध्यनजर गरी यस्तो गर्न लागिएको नगरपालिकाको भनाई छ ।
आइतबार बुटवलको कान्ति माविका बालविकास केन्द्रका बालबालिकाहरुलाई अभिभावकको उपस्थितीमा टिफिन बक्सको वितरण गर्दै उपमहानगपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले कार्यक्रमको शुरुवाद गरेकी छिन् । टिफिन बक्सको वितरण गर्दै उपप्रमुख आचार्यले बालबालिकाले खाने खाजा र प्रयोग गर्ने भाडाको अवस्थालाई ध्यान दिइ टिफिन बक्स वितरण र खाजा रकमको व्यवस्थापन गरेको बताइन । अनुगमन गर्दा प्लास्टिकमा पोको पारी खाजा पठाउने गरेको र टिफिन बक्समा ल्याउने बालबालिकाले पनि प्लास्टिकको टिफिन प्रयोग गरेको हुदा सचेतना सहितको कार्यक्रम अघि सारेको उनको भनाई थियो ।
नगरपालिकाले उपलब्ध गराएको टिफिन बक्समा खाजाका लागि दिइएको पैसाले पोषणयुक्त खाजा बनाएर पठाउनका लागि अभिभावकसँग उपमेयर आचार्यले अनुरोध गरिन ।
उपमहानगरका शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले टिफिन बक्स र खाजा रकमको वितरण वडा शिक्षा समितिको रोहबरमा वितरण गर्ने बताए । उनले त्यसको प्रयोगको अवस्थाबारे नगरको वडा समितिले अनुगमन गर्ने जानकारी दिए । नगरपालिकाले स्टीलको टिफिन बक्स र हाजिर भएका आधारमा बालबालिकाहरुलाई दैनिक २० रुपियाँका दरले बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र दर्जी, प्रधानाध्यापक गोविन्द ज्ञवालीले बोलेका थिए । नगरपालिकाका अनुसार नगरमा ८ वटा समुदायमा र ५३ वटा विद्यालयमा गरी ६१ वटा बालविकास केन्द्र छन् । जहाँ १ हजार २ सय ७५ बालकालिका छन् ।