© २०२३
चन्द्रौटा (कपिलवस्तु ), २९ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशबासीका लागि गौरवको योजना रहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा बुधबार आयोजित अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले बताए । कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको जनाए । आम नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम हुने समेत उनको भनाइ छ ।
हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार ५ सयको शैय्याको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताए । सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदा सम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीले जोडदिए ।
यसैबीच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताए । जग्गा प्राप्ति, आइइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिए ।
सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने शिवराज नगर प्रमुख थापा जिकिर गरे । अस्पताल भवन निर्माणका नगरपालिकाले सहयोग पुर्याउने उनको भनाई छ ।
प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणकालागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा। विनोद गिरीले बताए । अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने गिरीले जनाए ।
अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ । निर्माण हुने अस्पताल ५० शैय्याको हुने छ । भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३ सय २६ रुपियाँ रहेको छ । २०८१ फागुन सम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।