© २०२३
मुल्लाको अचम्मको बानी छ । उसले सपना देख्नको लागि सुत्नु नै पर्दैन । बाटोमा हिँडिरहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । सपना पनि अचम्म अचम्मका देख्छ । सपना देखेपछि उसलाई सपनाका कुरा नभनी चित्त बुझ्दैन । त्यो पनि एक दुईजनालाई मात्र कहाँ हो र ? सबैले सुन्ने गरी सुनाउनु पर्छ । अझ भएन भनेर देख्नेगरी भट्टाउनु पर्छ । एकदिन उसले नेपालमा रेल गुडाएको सपना देखेछ । लौ नेपालमा रेल यसै बर्ष गुड्ने भयो भनेर हल्ला गर्यो । अर्कोपटक पानी जहाज खोलामा तैरिएको देखेछ । लौ नेपालमा यसैबर्ष नेपालमा पानी जहाज तैरिन्छ । ७०० मेट्रिक टन सामान एकैचोटी ल्याउन सक्छ भनेर भन्यो । केही पहिलेको कुरा हो । उसले सबै नेपालीका भान्सामा ग्यासको पाइपलाइन बिच्छाइदिने सपना देखेछ । सारा नेपालीलाई उसले यो कुरा सुनायो । मानिसले भान्साकोठामा भकाभक ग्यासको खाली सिलिण्डर ल्याए । अहिले पनि सुरक्षित राखेका छन् । मुल्लाले ग्यासको पाइपलाइन कहिले बिच्छाइदिने हो थाहा छैन ।
नेपालीको स्वभाव पनि अचम्मको छ । त्यत्ति पाइपलाइन विच्छाउने कुरा सुन्दासाथै मुल्लालाई यस्तो सम्मान गर्न थाले कि मानौँ पाइप बिच्छाइसकियो । भकाभक भोट दिए । मुल्ला बड्का मुल्ला बन्यो । बड्का भएपछि उसले अनेकखालका सपना देख्न थाल्यो । सपनाहरु जनतालाई सुनाउन थाल्यो । जनताले सुन्दैन भने पनि सुन्नुपर्ने वाध्यता छ ।