© २०२३
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस । विश्वभरीका खेलाडी र खेलप्रेमीहरुका लागि आजको दिन खुसीको दिन हो । खेलले जीवन र जगतलाई जोडेको छ । खेलकुदकै मार्फत विश्वका ठूला राष्ट्रवीचको विद्वेष र मनोमालिन्य मित्रतामा परिणत भएको थुप्रै उदाहरण छन । विश्व खेलकुद दिवसकै अवसरमा शान्ति र सम्वृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्धजन्मस्थलमा लुम्बिनीमा विहिवार पीस हाफ् म्याराथन प्रतियोगिता हुँदैछ । यसले खेलाडीलाई शान्तिसंग जोडन सहयोग पुग्छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनीबाट सुरु हुने पिस म्याराथनको सन्देश शान्तिका लागि खेलकुद पनि हो । निश्चितरुपमा विश्व शान्तिका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुनेछ । अर्कोतर्फ मानिसलाई स्वस्थ्य हुन खेल अर्थात ब्यायाम जरुरी छ भन्ने सन्देश पनि खेलकुद दिवसले प्रवाह गर्नुपर्दछ । खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहिबार देशभरका २ हजार ५ सय खेलाडीलाई म्याराथनमा सहभागी गराउँदैछ । यो अत्यन्तै महत्वपूर्ण बिषय हो । यस प्रकारका प्रतियोगिताले एकातर्फ खेलको महत्वलाई उजागर गर्न महत्वपूर्ण सहयोग पुग्छ भने अर्कोतर्फ खेलबाट समाजको जीवनलाई पनि जोड्न मद्दत पुग्छ । खेलको विशेषता हो ‘नियम र अनुशासन’ । यो खेलकुदको क्षेत्रमा मात्रै लागू हुँदैन । जीवनलाई एउटा स्पष्ट दिशामा अघि बढाउन पनि खेलकुद सार्थक गन्तब्य बन्न सक्छ । विडम्वना भनौं नेपालमा अझैपनि खेलकुद भन्ने वित्तिकै वेवास्ता गरिने गरिएको धेरै उदाहरण छन । नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन अझैपनि सकिरहेको छैन । तिनवटै तहका सरकारले खेल क्षेत्रको विकासमा खासै ध्यान दिएका छैनन् । अर्को बिडम्वना के छ भने नेपालमा भएका खेल पूर्वाधारसमेत उचित संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेका छन । अहिले खेलाडी उत्पादन, खेल मैदानको पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र खेल प्रतियोगिता आयोजनामा धेरै कमी भएको छ । नयाँ खेलाडी उत्पादन र प्रोत्साहनको खाँचो छ । खेल प्रतियोगिता सञ्चालनमा राज्यको भन्दा नीजि क्षेत्र धेरै अगाडि देखिएको छ । क्लवहरुले खेलकुदको गौरब धानिरहेका छन । नेपालमा पर्याप्त अवसर नहुँदा खेलाडीहरु विदेश पलायन हुन बाध्य भैरहेका छन । सरकारले खेलाडीलाई नेपालमै रोजगारीको अवसर दिन नसक्नु बिडम्वना कै बिषय हो । विश्व खेलकुद दिवसको अवसरमा सरकारले नेपालको खेल क्षेत्रको विकास गर्ने हो भने खेलसंगै खेलाडीलाई सरकारी प्रोत्साहनको खाँचो छ । यसतर्फ नेपाल सरकारको ध्यान जानु जरुरी छ ।
पछिल्लोसमय नेपालको क्रिकेट र फुटवलले अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख जोगाउने प्रयास गरेको छ । क्रिकेटमा नेपाल विश्वकप क्वालीफायरमा पुग्नु नेपालको लागि खुसीको कुरा हो । फुटवलमा पनि युवा खेलाडीले उत्साह भरेका छन । महिला खेलाडीहरुको संख्या पनि बढिरहेको छ । खेलकुद क्षेत्रका गतिविधि बढ्दै गएका छन । यसमा राज्यको सहयोग र प्रोत्साहनको खाँचो छ । अव केन्द्रदेखि जिल्लातहसम्म सरकारले प्रतियोगितामा ध्यान दिनु जरुरी छ । अहिले खेल क्षेत्र सुस्ताएको मात्र होइन खेलाडीहरू बिदेश पलायन हुन बाध्य भैरहेका छन । सरकारले सवैभन्दा पहिले खेलाडी विदेश पलायन रोक्ने काम गर्नुपर्दछ । विश्व खेलकुद दिवस मनाउँदै गर्दा खेलाडीलाई प्रोत्साहन गर्नेतर्फ जोड दिनु जरुरी छ । खेलकुद क्षेत्रले नै हो नेपालको नाम विश्वमा चिनाउने । अव क्रिकेटमात्र होइन फुटवल, भलिवल लगायत खेलका थुप्रै विधाको निरन्तरतामा राज्यको ध्यान पुगोस् ।