© २०२३
– बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले सञ्चालन गरेको असल अभिभावक अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ७ मा अध्ययनरत बालबालिकाहरूका अभिभावकहरूको लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयका गतिविधिका बारेका जानकारी गराउँदै विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकहरूको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अभिभावकहरूलाई जागरुक गराउने काम गरिएको उल्लेख गरे । कार्यक्रममा प्रशिक्षक दिनेश खड्काले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा श्रव्य दृश्यसँगै प्रयोगात्मकरूपमा प्रशिक्षण प्रदान गरे । करिव १ सय ३० जना अभिभावकको सहभागिता रहेको कार्यक्रममा बालबालिकालाई असल बनाउने उपायहरू र अभिभावकले गर्नुपर्ने दायित्व के–के हुन भन्ने विषयमा जानकारी गराइएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताए । कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष गुरु चैतन्य कृष्णले अनुशासन र स्वास्थ्यका सम्बन्धमा जानकारी गराएका थिए । सोही अवसरमा अर्धवार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूका अभिभावकहरूलाई सम्मान गरिएको तथा विद्यार्थीहरूले विभिन्न प्रतिभा देखाएको तहगत संयोजक कृष्ण भुसालले जानकारी दिए ।