© २०२३
मणिग्राममा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आइतबार कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा गरिएको छ । कार्यक्रममा कार्यक्रम बारे प्रकाश पार्दै मेला आयोजक संस्था उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले कृषिमा आधुनिकीकरण ल्याउनको लागि राज्य स्तरबाट नै पहल गर्नुपर्ने बताए ।
उनले निजी संस्थाहरूले आयोजना गरेका मेला महोत्सवमा आयोजकले स्टल उपलब्ध गराउँदा पनि कृषि सम्बन्धि कार्यालय वा मन्त्रालयबाट विभिन्न कृषिका वस्तुहरूको प्रचार प्रसार र प्रबद्र्धन गर्न नसकेको धारणा राखे । कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ वागवानी विकास अधिकृत दिपक भट्टराईले प्रदेश नं ५ मा कृषि बर्तमान स्थिती, रणनीतिहरू, सम्भावना र चुनौतीहरूको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै उनले ४०४५४१ हेक्टर खेतीयोग्य जमिन भएको यस प्रदेशमा कुल कृषि उत्पादनको १८. ४ प्रतिशत, कुल माछा उत्पादनको २४. २ प्रतिशत, धान र तेलहन उत्पादनमा पहिलो, आलु र मकै उत्पादनमा चौथो, भैसी संख्यामा पहिलो र गाईमा तेस्रो रहेको बताएका छन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा ७० प्रतिशत खेतियोग्य जमिन रहेको बताउँदै उक्त जमिनको सदुपयोग गर्ने नीति सहित नगरपालिकाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताए । १२ महिना दुःख गर्ने भन्दा देखाउनको लागि फर्म खोलेर राज्यबाट अनुदान लिइ अन्य क्षेत्रमा लगानी दुरूपयोग गर्नेहरूले गर्दा वास्तविक किसान पिडामा परेको बताउँदै उनले अब त्यस्ता खालका दुरूपयोगको अन्त्य तिलोत्तमाबाट सुरुवात गरीने बताए । उनले कृषिमा सम्भावनै सम्भावना भएको तिनपामा वडा नं १३ लाई माछाको पकेट क्षेत्र र १४ लाई तरकारीको पकेट क्षेत्र घोषणा गरि काम सुरवात गरिसकेको बताउँदै वडा नं. १७ मा कृषि उपज संकलन तथा प्रसोधन केन्द्र स्थापना गर्नको लागि ६ विगाहा जग्गा तयार पारिकसिएको बताए ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले प्रदेश नम्बर पांचमा रहेको खेतियोग्य जमिन व्यवस्थापन गरी कृषकहरूलाई आवस्यक पर्ने विउ, मलखाद र सिचाइको व्यवस्थापन गर्नसके कृषिका थुप्रै सम्भावनाहरू रहेको बताउँदै तिलोत्तमा महोत्सवले कृषिलाई प्राथमिकतामा राखेको बताए ।
महोत्सवका सल्लाहकार चोपलाल आचार्यले कृषिमा थुप्रै सम्भावनाहरू हुँदाहुँदैपनि राज्यले व्यवस्थापन गर्न नसक्दा चुनौति बढी देखिएको बताए । कार्यक्रममा मत्य व्यवसायी लक्ष्मण भण्डारीले प्रधानमन्त्री कृषि आधुनिकीकरणको काम राजनीति गर्ने मात्र भएको आरोप लगाएका थिए । कार्यक्रममा नेकपाका नेता लक्ष्मण खनाल, महोत्सव प्रचारप्रसार संयोजक हरि प्रसाद उपाध्याय, संघसंस्था व्यवस्थापन संयोजक जीवन भण्डारी, पशुपालक व्यवसायी सन्जु थापा, महोत्सवका सल्लाहकार गणेश पाठक लगायतले बोल्दै कृषकबाट उत्पादित वस्तुको मुल्य निर्धारण कृषकले नै गर्ने व्यवस्था गर्न माग राखेका थिए ।