© २०२३
कपिलवस्तु जिल्लामा ५ सय ५१ एचआईभी संक्रमित फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत साउनसम्म सो संख्या पत्ता लागेको हो । गत साउनसम्म १सय १६ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ५सय १ जनाले आयू लम्बाउने एआरटी नामक औषधी सेवन गर्दै आएको समर्पण सहयोग समूहका रामबहादुर भरले जानकारी दिए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ३१औं एचआईभी, एड्स दिवसको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा जिल्लाको चन्द्रौटामा आयोजित अन्तरक्रिया कार्यक्रममा भरले सो विषयमा जानकारी गराएका हुन् । उनले भने – “एचआईभी संक्रमितमध्ये ५६ जना बालबालिका छन् । संक्रमित बालबालिकाहरूले मासिक १ हजार रकमका दरले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।” कूल संक्रमितमध्ये ६० प्रतिशत महिलाहरू रहेको समर्पण समूहका भरले बताए । उनका अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार ७सय ४७ रहेको छ ।
जिल्लामा एक हजार बढी एचआईभी संक्रमित भएपनि समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा अधिकांश संक्रमित खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएकोछ । खुलेका मधये ९० प्रतिशत बढी रोजगारीका लागि भारत जाँदा असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भएको स्वास्थ्य कार्यालयको तथ्यांकलाई उदृत गर्दै समर्पण समूहका भरले बताए । संक्रमित पतिबाट पत्नीमा संक्रमण सरेको अनुसन्धानले देखाएको भरको भनाई छ । खुला सीमाका कारण नेपाली नागरिक एचआईभीको जोखिममा परेको विभिन्न तथ्यांकले देखाएको वताइएको छ । साथै गाउँगाउँमा एचआईभीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन भएपछि पछिल्लो समय संक्रमितहरू खुल्न थालेको उनको भनाई छ ।
“नेपालमा लैंगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार” भन्ने नारासहित गत मंसिर ९ गतेदेखि २७औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानमा दुई दर्जन बढी संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । अभियानकै क्रममा एचआईभी एड्स दिवसमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अगुवाईमा कार्यक्रम गर्नुपर्ने भएकाले अभिमुखीकरण कार्यक्रम राखिएको संघका अध्यक्ष गोपाल बहादुर क्षेत्रीले बताए । जसको व्यवस्थापन वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले एचआईभी संक्रमण न्युनीकरणका लागि जनचेतना कार्यक्रम आवश्यक रहेको वताइन् । हाम्रो समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा अझैपनि कतिपय संक्रमित खुल्न नसकेको उपप्रमुख थारुले बताइन् । समाजमा पुरुषबाट मात्र नभई महिलाबाट नै हिंसा भएको न्यायिक समितिमा कतिपय उजुरीहरू पर्ने गरेको उनले सार्वजनिक गरिन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव नरबहादुर खडकाले आजैबाट आफू, आफ्नो घरपरिवार र कार्यालयमा कुनै पनि किसिमका हिंसा हुन नदिने प्रण गरेका थिए । यसैगरी कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णुप्रसाद खतिवडा, महिला मानव अधिकार रक्ष सञ्जालकी जिल्ला अध्यक्ष मीना परियार लगायतले महिला हिंसा अन्त्यका लागि आफैंबाट शुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन पौडेलले महिला हिंसा र एचआईभीका बारेमा रचना बाचन गरेका थिए ।à