© २०२३
यस क्षेत्रका उद्योगी व्यवसायी र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच यस क्षेत्रको आर्थिक बिकास र लगानीका सम्भावनाका सम्वन्धमा बुटवलमा छलफल भएको छ ।
त्यसअवसरमा दुई देशको अहिलेको आर्थिक स्थिति बैदेशिक लगानी, प्रबिधि तथा जनशक्ति लगायतका बिषयमा खुलेर छलफल भएको थियो ।
छलफलका क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बुटवल तथा आसपासको क्षेत्रमा उद्योग व्यवसायको अवस्था, दुई ठुला मुलुक भारत र चिनले गरेको आर्थिक प्रगतिबाट नेपालले लिन सक्ने लाभ, नेपालमा सम्भावना भएको बैदेशिक लगानीका क्षेत्र र कोरीया सरकारको सहयोगमा स्थापना भएको कोरीया नेपाल टेक्निकल इन्ष्टिच्युट (कोइका) ले यस क्षेत्रमा पारेको सकारात्मक प्रभावका सम्वन्धमा राजदुत सीकलाई जानकारी गराएका थिए । अध्यक्ष हमालले कोइकाको स्तरउन्नती गरी इञ्जिनियरिगं कलेज बनाउन, मोतिपुरमा निर्माणाधिन औद्योगिक क्षेत्रको पुर्वाधार बिकास र उद्योग स्थापनामा सहयोग तथा लगानी गर्न र बुटवलमा बिजनेश इनोभेसन सेण्टर स्थापनाका लागि सहयोग गर्न आग्रह गरे ।
त्यस्तै संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठले भारत र चीनका लागि समेत उपयुक्त यो क्षेत्रमा जनशक्ति, कच्चा पदार्थ तथा वजार व्यवस्थानका लागि सहज भएको बताए । उनले लुम्विनीलाई ग्लोवल पिस सीटीको रूपमा बिकास गरेर जेनेभा जस्तै शान्ति वार्ताको स्थल बनाउन सकिने बताए ।
संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सन १९६० मा कोरीया भन्दा राम्रो प्रतिव्यक्ति आय भएको नेपाल अहिले कोरीयाले आमुल परिवर्तन गरिसक्दा नेपाल निकै पछाडी पर्नु दुःखद भएको बताउँदै कोरीयामा जस्तै सबै नेपालीले आर्थिक उन्नतीका लागि काम गर्नु पर्ने बताए ।
कार्यक्रममा राजदुत सीकले नेपालको आर्थिक गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र आसपासको क्षेत्रमा बिकासको प्रचुर संभावना रहेको उल्लेख गरे । उनले लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रलाई आग्रह गरे । उनले लगानीमैत्री वातावरण बनेमा नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार इच्छुक रहेको बताए । उनले समस्याहरू उल्लेख नगरी समस्याहरूको गांठो फुकाउन सरकारलाई सुझाव समेत दिए । राजदुत सीकले दक्षिण कोरियाले आफ्नो रुचि अनुसार नभई नेपाल सरकारको माग र आवश्यकताका क्षेत्रमा सहयोग र लगानी गर्ने स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, कृषि र जनताको जीवनस्तर उकास्ने खालका क्षेत्रमा अहिले कोरिया सरकारले सहयोग गरिरहेको जानकारी दिँदै उनले बौद्ध धर्म, लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, जलविद्युत र उत्पादनमूलक क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए । संघका अध्यक्ष खिम बहादुर हमाल, महासचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।
ठूला आयोजनामा सहयोगको आग्रह
तिलोत्तमा, २६ कार्तिक– तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित ठूला विकासे आयोजनाहरूमा सहयोग गर्न कोरियाली सरकारसँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच सोमबार भएको छलफलमा नगरपालिकाले यस्तो आग्रह गरेको हो । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा राजदुतलाई जानकारी गराउँदै नगर प्रमुख वासुदेव घिमिरेले कोरियाली सहयोगका लागि आग्रह गरेका हुन् ।
छलफलमा नगर प्रमुख वासुदेव घिमिरे, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायतका कर्मचारीहरू, कोरियाली दुतावासका शिव पोख्रेल, अङ्कुर नेपालका गम्भिर गुरुङको सहभागिता रहेको थियो ।
छलफलका क्रममा नगर प्रमुख घिमिरेले नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि सुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाहरूका बारेमा राजदुत सीकलाई जानकारी गराएका थिए । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारको तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदुत सीकलाई आग्रह गरे ।
नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे सुरु हुँदा किसानहरू मर्कामा परेको उल्लेख गर्दै दूधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदुत सीकमार्फत् कोरिया सरकारलाई आग्रह गरे ।
प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माणमा सजहीकरण गर्न समेत राजदुत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गरे ।
कार्यक्रममा राजदुत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर संभावना रहेको उल्लेख गरे । दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदुत सीकले योजनाहरूको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदुत सीकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताए ।