© २०२३
संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ५ बर्षभित्रमा बाँकेको ग्रामिण क्षेत्रमा पर्ने नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुग्नुभएका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडि परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गरे । उनले भने,— ‘मैले आफ्नो मन्त्रालय अन्तर्गतका केही योजना यो बर्ष पारेको छु, अन्य योजना आगामी बर्षमा थपिँदै जान्छन्, अरू मन्त्रालयसंग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।’
उनले बस्ती सुधार कार्यक्रम अन्तर्गत् नरैनापुरलाई स्मार्ट भिलेज बनाइने बताए । प्रदेश ५ मा ४ वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकोमा बाँकेमा नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाउने योजना परेको जानकारी मन्त्री राईले दिए ।
जनता आवास कार्यक्रम अन्तर्गत् यो बर्ष नरैनापुरका ३ सय परिवारलाई आवास दिइने पनि उनले बताए । जनता आवास कार्यक्रम अन्तर्गत फूसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिए । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्कता औंल्याए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेष रूपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।