© २०२३
काठमाडौं,२४ माघ । इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३ (सूचना प्रविधि प्रदर्शनी) भृकुटीमण्डपमा सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार उद्घाटन गरेकी हुन् ।
माघ २९ गतेसम्म चल्ने प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।
माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।
यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे ३ लाखले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
इन्फोटेक उद्घाटनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।
उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरेका हुन्।
उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए । ढकालले नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताउँदै टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था रहेको बताए।
उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए। ‘नेपाल आईटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको र कतिपय नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरुले हामी विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरु कमी छ भन्ने नरहेको तर सरकारले तिनलाई प्रवद्र्धन गर्न नसकेको बताए ।