© २०२३
बुटवल, १९ माघ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट जितेका थिए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।
अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा निर्वाचित भएका थिए ।
ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।
फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए ।