© २०२३
दाङ, ५ पुस ।
घोराही– २ सुर्केडाँगीका सोमती चौधरी पूर्व कमलरी हुन् । अर्काको घरमा बँधुवा मजदुरको रुपमा पाँच वर्ष काम गर्दा भनेको समयमा खान, सुत्न नपाउनु विद्यालय जान नपाएका जस्ता थुप्रै नमिठा अनुभव उनीसँग छन् । २०६३ सालमा असहाय नानीहरुको साथी (एफएनसी) ले कमलरी मुक्त गराएपछि उनी प्राथमिक विद्यालय पलासेमा कक्षा ५ मा भर्ना भइन् । त्यो भन्दा माथिको पढाई माध्यमिक विद्यालय गोग्लीमा गरिन् । त्यहाँ कक्षा ८ सम्मको पढाई गर्दै गर्दा २०७१ सालमा सोही ठाउँका महेश चौधरीसंग विवाह भयो । “घर गृहस्थीको जीवन सुरुवात गरेपछि जिम्मेवारी पनि बढेको महसुस भयो”–उनले भनिन् ।
व्यावसायिक तरकारी खेती गरेर आम्दानी गर्ने मनसायले बिगत तीन वर्ष देखि आफ्नै साढे तीन कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्न सुरु गरिन् । यो वर्ष पनि उनले काउली, बन्दा र टमाटर खेती गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाको सहयोगमा २० हजार घुम्ति कोषको सहायतामा व्यवसाय अगाडि बढाएको उनले बताइन् । “एक वर्ष सम्म व्याज तिर्नु नपर्ने गरी पैसा पाएपछि व्यावसाय गर्न सजिलो भएको हो”– उनले भनिन् । “चारजनाको परिवार सजिलोसंग चलेको र दुइचार रुपैयाँ बचत पनि भएको छ । आफ्नै व्यावसायले जीवन चलाउँदा आनन्द अनुभूती भएको छ”–उनले भनिन् ।
घोराही –२ रामपुरका अंजु चौधरी पाँच वर्ष कमलरी बसिन् । २०७१ सालमा विवाह गरेकी अञ्जुले व्यावसायिक रुपमा तरकारी खेती गरेकी छन् । तीन कट्ठा आफ्नो र चार कट्ठा भाडाको जमिनमा काउली र टमाटर खेती गरेकी छन् । चार कट्ठा जमिनलाई वर्षको तीन हजार तिर्ने शर्तमा भाडामा ल्याएको उनले बताइन् । सात जनाको परिवार छ सबैले मिलेर काम गर्दा सजिलो र आम्दानी पनि प्रशस्त भएको उनले बताइन् । मुक्त कमलरी विकास मंच र आइएम संस्थाको सहयोगमा २० हजार घुम्ति कोषको सहायता लिएर व्यवसाय अगाडि बढाएको उनले बताइन् । पैसाको अभाव भएको समयमा घुम्ती कोषले व्यवसायमा जोडिन सहयोग गरेको हो ।
सोमती र अञ्जु त उदाहरण मात्र हुन् । अर्काको घरमा कमलरी बसेर ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने गरेका कमलरी पछिल्लो समय आफ्नो व्यावसायबाट आम्दानी गर्दै आएका छन् ।
घोराही –२ सुर्केडाँगीका सन्तोषी चौधरी पूर्व कमलरी हुन् । उनले साढे आठ कट्ठा जग्गा आफ्नो र नौ कट्ठा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गरेकी छन् । घरमा खानलाई मात्रै तरकारी खेती गदै आएकी सन्तोषीलाई मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले बचत गर्ने तरिका, लगानी गर्दाको फाइदा, समूहमा बस्दाको फाइदा र बालविवाह विरुद्ध जस्ता व्यावहारिक ज्ञान दिएपछि व्यवसायतिर लागेको बताइन् ।
तरकारी खेतीबाट गत वर्ष चार लाख रुपैयाँ आम्दानी भएको थियो, प्रत्येक महिना एक सय रुपैयाँ बचत गर्ने गरेको र त्यो बचत भएको पैसा समुहका सदस्यले पालैपालो लैजाने र एक प्रतिशत व्याज लिने गरेको उनले बताइन् । “समूहमा ३० जना महिला छौ, बचत र व्याज गर्दा प्रत्येक महिना छ हजार जति पैसा उठ्ने गर्छ सबै पैसा लगानी लगाउने गरेका छौ”– उनले भनिन्–“सात जनाको परिवार छ , तरकारी खेतीबाट आएको आम्दानीले सबै खर्च चल्ने गरेको छ ।”
घोराही –२ रामपुर निमुरियाका विपति चौधरी साढे पाँच वर्ष कमलरी बस्ीिन् । उनी कमलरी मुक्त भएपछि २०६५ सालमा सोही ठाउँ निवासी श्रीधर चौधरीसंग बिहे भयो । मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले गुरधौली कृषि महिला समूह बनायो । सो समूहमा अध्यक्षको जिम्मेवारी उनले लिइन् । २० हजार घुम्ती कोष मार्फत रकम पनि सहयोग गर्यो । सोही रकमबाट उनले घरमै किराना पसल सञ्चालन गरेकी छन् । सोही संस्थाले १० दिनको होटल संचालन तालिम सिकायो सोही तालिमपछि अहिले घरैमा चिया नास्ताको पसल पनि संचालन गरेकी छन् । समय समयमा संस्थाले तरकारी खेती तालिम, बचत गर्ने तरिका र जीवन जिउने कलाको बारेमा सिकाउने गरेकाले जीवन परिवर्तन भएको उनको भनाई छ ।
मुक्त कमलरीहरु आर्थिक समाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूह मार्फत आय आर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार ७२१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, किराना पसल र नास्ता पसल संचालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन् । उनले मुक्त कमलरीका छोराछोरी आफ्ना बाबु आमा जस्तो दुःख नपाउन भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् ।
मुक्त कमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारुले नेपाल सरकारले मुक्त कमलरीको पुनस्थापनाको लागि ध्यान नदिएको बताए । बिशेष गरेर छात्राबासमा रहेका नानीहरुलाई पढाइ खर्च र छात्राबासमा खानपिनको खर्च अभाव भएको उनले बताए । २०७० साल असार १३ गते नेपाल सरकारले कमलरी मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरीहरु संगठीत हुनुपर्छ भन्न्ो उद्देश्य लिएर (मुक्त कमलरी विकास मञ्च) नामको साझा संस्था स्थापना गरेका थिए ।
दाङमा ४ सय ८७ जना, बाँकेमा ६७, बर्दियामा ३ सय ९५ जना, कैलालीमा ४ सय ३३, कन्चनपुरमा १ सय ५१ मुक्त कमलरीले अध्ययन गरिरहेको मुक्त कमलरी विकास मञ्चले जानकारी दिएको छ ।