© २०२३
पाल्पा, ३ पुस ।
दुई दशक अगाडि सम्म घर आँगनको किनारामा घरायसी प्रयोजन र सौखका लागि लगाइने सुन्तला पछिल्लो पटक व्यावसायिक बन्न सफल भएको छ । हावापानी भौगोलिक भु बनोटको हिसावले जिल्लाको छहरा, मुझुङ, कुसुमखोला, देउराली, खस्यौली, भैरवस्थान, वौघागुम्बा, नायर नन्तलेस, पुर्वखोला जस्ता गाउँका किसानहरुले मुख्य नगदेवालीका रुपमा अँंगाल्दै आएका छन् । पछिल्लो समयमा निर्वाहमुखी सुन्तला खेतिलाई व्यावसायिक नै बनाउनका लागि जिल्ला कृषि बिकास कार्यालय, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला खेतिलाई आधुनिक प्रणालीबाट खेति गर्नका लागि ब्लक कार्यक्रमसंगै आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिएपछि ठुलो सख्यामा कृषकहरु व्यावसायिक भएका हुन् ।
छहरा अवलाबासका अगुवा कृषक नित्यनन्द पोखरेल भन्छन्–“पहिले पहिले २, ४ बोट लगाउँदा बिक्री गर्ने चलन नै थिएन । अहिले दुई चार सय बोट लगाउने चलन नै भयो । यसवर्ष आफुले सात लाख रुपैयाँको दाना बिक्री गरिसके ।” गाउँमा वाषर््िाक रुपमा सुन्तलाबाट मात्रै ७० लाख देखि १ करोड रुपैंयाँसम्म भित्रिने गरेको उनी बताउँछन् । सुन्तला खेतिबाट यहाँका कृषकहरुले जिवनस्तर नै परिवर्तन गरेका छन । उनले भने,–“सुन्तला खेति बिस्तारको क्रममा १९ रोपनी क्षेत्रफललाई बगैचा नै बनाएको छु ।”
काम र दामको खोजीमा द्वन्द्वग्रस्त मुलुक इराक, अफगानिस्तानसम्म पुगेका मुझुङका कृषक सन्जिब बस्नेत पनि विदेशबाट फर्किएर ठुलो संख्यमा व्यावसायिक रुपमा कुखुरा पालन गर्दा लागेको ऋण व्यावसायिक सुन्तला खेतिबाट पुर्ति गर्दै बचत गर्न लागेको बताउँछन् । व्यावसायिक रुपमा बगैचाबाट राम्रो आम्दानी लिन सकिने र गाउँबस्तीलाई सडक सन्जालले जोडेपछि बुटबल सम्मका व्यापारी घर–घर आउँदा बजारीकरणको समस्या नभएको बस्नेतको अनुभव रहेको छ ।
घरमा पहिले सुन्तलाका २ बोट मात्र थिए । सबैले लगाउने भएपछि जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्र बनाउने भयो । त्यसपछिका दिनमा ३ सय बोट लगाएकी गंगा रायमाझी भन्छिन्,“सुन्तला त बुढेसकालको पेन्सन जस्तै भएको छ । वार्षिक रुपमा ५ देखि ६ लाख रुपैयाँ हात पर्दै आएको छ ।”
पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले बगैचा क्षेत्र बिस्तार कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले यान्त्रिकरण, शित भण्डार निर्माण जस्ता क्षेत्रमा सहयोग गरेका कारण महिलाहरुको सुन्तला खेतिमा सहभागिता मात्र होइन समूह नै बनाएर व्यावसायिक खेतिमा लागि पर्दा आर्थिक विकासमा ठुलो टेवा पुगेको अगुवा कृषक गिता भट्टराई बताउँछिन् ।
सुन्तला, कागती, मौसम, जुनारबाट महिलाले राम्रो आम्दानी गर्दै आर्थिक रुपमा सवल बन्दै गएको उनले बताए । पुर्वखोलाकी पार्वती न्यौपानेले पनि यसवर्ष सुन्तला बिक्रीबाट ४ लाख रुपैयाँ हात परेको बताउँछिन् । कृषि ज्ञान केन्द्रकी कामना अधिकारी सरकारले सुन्तला जात फलफुल पकेट क्षेत्र बनाउने रुपमा पकेट क्षेत्र बनाउने कार्यक्रमले कृषकलाई व्यावसायिक बनाएको बताउँछिन् ।
परियोजनाका प्रमुख दिपक भट्टराई भने प्रविधिसंगै यान्त्रिकरणमा कृषकहरुलाई सहयोग गरेका कारण सुन्तलाजन्य खेतितर्फ आकर्षण भएको बताउँछन् ।
मूल्यकै गुनासो
आम्दानीको मुख्य श्रोत सभएको सुन्तला खेतितर्फ कृषकको आकर्षण बढे पनि उत्पादिन वस्तुमा कृषकले भन्दा बिचौलियाले बढी मुनाफा कमाएकोमा सुन्तला खेतितर्फ उत्साहित कृषक पछिल्लो समयमा निराश भएका छन् । कृषकका घरबारी बगैचामा पुगेका व्यापारीले प्रति केजी ४० देखि ५० रुपैयाँमा खरिद गर्दा कृषकको लागत मूल्य सम्म उठ्न नसकेको कृषक सन्जिव बस्नेत बताउँछन् ।
सुन्तला भन्नासाथ सबैको आकर्षण बढेको छ । यसमा समय अनुसार लाग्ने रोग तथा किरा नियन्त्रणको लागि विषादीको प्रयोग गर्नु पर्दछ । मल प्रयोग नभए उत्पादन राम्रो हुँदैन । सबै लागतको हिसाव गर्दा कृषकलाई नोक्सान हुने कृषक नित्यानन्द पोखरेल आफ्नो अनुभव सुनाउछन । कृषक र उपभोक्ताबीचमा प्रति के.जी ५० देखि ७० रुपैयाँ फरक हुन्छ । त्यसैले सरकारले नै बजारीकरणको व्यवस्था गरिदिनु पर्ने र स्थानीय सरकारले उत्पादनमा आधारित अनुदानमा व्यवस्था गरिदिनु पर्ने कृषकहरुको माग रहेको छ ।