Butwal Today
मौसमी र स्वस्थ्यकर नेवारी खाना

तिलोत्तमामा नेवारी खाजा महोत्सव

२१ मंसिर २०७९, बुधबार
अ+
अ-

स्वस्तिक श्रेष्ठ
बुटवल, २१ मंसिर ।

नेपालका आदिवासी नेवार समुदाय आफ्नो भाषा, संस्कृति र परम्पराका कारण परिचित छन । काठमाडौमा निर्वाहमुखी खेतीपाती र ब्यापारमा नाम कमाएका नेवार समुदायहरु वर्षभरि नै पर्व मनाउने गर्दछन । अन्य जातीका तुलनामा नेवार समुदायका मानिसहरु दीर्घायु भएको पाउँछौ ।

नेवार समुदायका मानिसहरु स्वस्थ्यकर खानपान र जीवनयापनको राम्रो ब्यवस्थापनका कारण दीर्घायु भएको अध्ययनबाट पुष्टि भएको छ । नेवार समुदायका नयाँ पुस्तालाई आफनो कला, संस्कृति, परम्परा, भाषाबारे जानकारी दिने र संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव सुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरिएको हो ।

कार्यक्रमको एक समारोहका बीच तिलोत्तमा नगरपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष नारायण बस्याल, कार्यपालिका सदस्य लक्ष्मी गिलेले उद्घाटन गर्दै संस्कृति संरक्षणको महत्वपूर्ण पाटोका रुपमा महोत्सव भएको बताए ।

नेवार समुदायमा खाने खानाहरु वैज्ञानिक, मौसम र समयसापेक्ष हुने समाजका अध्यक्ष खिमनारायण श्रेष्ठले बताए । शरीरलाई बाहिरी मौसमबाट बचाउने लाभदायक खानाहरु नेवारी समुदायमा खाने प्रचलन रहेको उनले बताए । ‘चिसो मौसम सुरु भएपनि तातो खानाका परिकार खाने प्रचलन रहेको छ’– उनले भने । महोत्सवमा योमरी र आलुका परिकार महोत्सवमा राखिने उनले बताए । नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरेको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए । तिलोत्तमा नगरमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा दुई वर्षअघि भिमसेन नेवाः समाजको स्थापना भएको सचिव सितु प्रसाद श्रेष्ठले बताए । आगामी दिनहरुमा नेवारी कन्याहरुको ईहि (बेलविवाह), नया वर्ष (न्यु दया भिन्तुना), गाईजात्रा लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

महोत्सवमा एक सय रुपैयाँमा योमरी र आलुको अचार उपलब्ध रहेको संयोजक कृष्णा श्रेष्ठले बताईन् । समाजमा तिलोत्तमा नगरका २५ घरधुरीहरु आवद्ध रहेका छन् ।

के हो योमरी ?

चामलको पिठोबाट बनाईने एक खाने परिकार योमरी हो । नयाँ बाली भित्र्याइएको चामललाई मसिनो गरी पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी पर्वका रुपमा नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रण राखिन्छ । यसलाई वाफमा पकाएर तयार गरिन्छ ।

पछिल्लोसमय काठमाडौं उपत्यकासहित नेवार समुदाय भएका क्षेत्रमा योमरी खाने प्रचलन बढेको छ । जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यो खानाको वैज्ञानिक कारणले नेवार बाहेक अन्य जातीमा पनि यो खानाप्रति आकर्षण बढेको हो । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायमा योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।

यो पर्वमा चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको नयाँ अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै, भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ । यो दिनलाई लक्ष्मीपूजाको रुपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने जनविश्वास छ ।