© २०२३
बुटवल, १४ मंसिर । लुम्बिनी प्रदेशमा ४ हजार बढी एचआईभी संक्रमित उपचाररत रहेका प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३५ औं विश्व एड्स दिवसको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा ४३२५ जना एचआईभी संक्रमितले एआरटी औषधी सेवन गरिरहेको जानकारी गराइएको हो । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै रुपन्देहीमा १ हजार ४ सय ८७ जना उपचाररत रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मानबहादुर वलीले जानकारी दिए । सरकारी तथ्यांक अनुसार एचआईभी संक्रमितको संख्या ५ प्रतिशतले बढेको छ ।
प्रदेशका १२ जिल्लामा २३ वटा एचआईभि जांच गर्ने केन्द्र, २३ वटा बच्चाहरुमा एचआईभी परिक्षणका लागि नमुना संकलन केन्द्र, ११ जिल्लामा १५ वटा एआरबि सेन्टरहरु रहेका वलीले बताए । आमाबाट बच्चामा एचआईभि संक्रमण रोक्न गर्भवती महिलाको अनिवार्य एचआईभि टेष्ट प्रभावकारी भएको उनले बताए।
सेभ द चिल्ड्रेनका मीम बहादुर सिहले कैदीबन्दीहरु जोखिम समुहमा परेको बताए। कैदीबन्दीको क्षमताभन्दा बढी राख्ने र लामोसमय राखिदा उनिहरुमा समलिंगी यौन व्यवहार हुंदा उनीहरु जोखिममा परेको उनले बताए । सान्यतया जनसंख्याको १ प्रतिशत जोखिम समुहमा रहेको अवस्थामा ५ प्रतिशतभन्दा बढि संक्रमणको दर भएको खण्डमा केन्द्रीकृत संक्रमण भनिन्छ। नया संक्रमण घटाउने र रोकथामपछि परिक्षण गर्ने दुई प्रकारको अभियान सरकारले चलाएको उनले बताए। एचआईभि संक्रमितहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले अन्य रोगहरुको पनि संक्रमण देखिने गरेको उनले बताए।
एचआईभी संक्रमितहरुप्रति हुने लान्छना र भेदभाव हटाउन समुदायको भुमिका महत्त्वपूर्ण हुने उनले बताए।
एचआईभि संक्रमितहरुको राष्ट्रिय महासंघका अर्जुन ज्ञवालीले अस्पतालको सेवालाई ब्यवस्थित बनाउन जरुरी रहेको बताए। औषधी सेवनसंगै नियमित जाँच महत्त्वपूर्ण रहेको उनले बताए। संक्रमितलाई आवश्यक दैनिक जिविकोपार्जन हुने गरि सहयोग र सुविधासम्पन्न उपचार जरुरी रहेको उनले माग गरे। स्थानिय, प्रदेश र संघ तीन तहकै सरकारबाट आवश्यक बजेट विनियोजन नहुदा पछिल्लोसमय संक्रमितहरु समस्यामा परेको उनले दुखेसो गरे। सन २००६ बाट रुपन्देहीमा यो अभियान शुरु भएको उनले बताए।
नेपालमा सन १९८८ मा पहिलो संक्रमित भेटिएको थियो। यसैबीच ३५ औं विश्व एड्स दिवसको बुटवलमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभि फोकल पर्सन भिमप्रसाद ज्ञवालीले बताए । दिवसको अवसरमा विहिबार प्रादेशिक अस्पतालबाट सामाजिक संघसंस्थाहरुको सहभागितामा प्रभातफेरि कार्यक्रम शुरु हुने र नगर परिक्रममा गरि कोणसभा गरिने उनले बताए।
एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने नारासहित यो वर्ष विश्वभर मनाईदै छ।