© २०२३
रोल्पा, ११ मंसिर ।
रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम धाउँछिन् । घरवाट सदरमुकाम गर्न उनलाई करिव ३ घण्टा लाग्छ । दिनभर सुन्तला बेचेर बेलुका घर फर्कदा २ घण्टा पैदल हिड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले भने जस्तो वजार पाउँदैन ।
शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका जेष्ठ नागरिक घण्टौ पैदल यात्रा गरी सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिना सम्म यसैगरी सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेशा हो ।
रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भएपनि यसले उचित बजार नपाउँदा किसानहरु निराश हुने गरेका छन् । ती क्षेत्रमा सघन सुन्तला खेती भएपनि जिल्लाका अन्य क्षेत्रमा पनि सुन्तला खेती हुने गर्दछ ।
“बिक्री वितरणका लागि केही सुन्तला जिल्ला बाहिर जाने भएपनि ठूलो मात्राको सुन्तला जिल्ला सदरमुकाम लिवाङबाटै विक्री गर्दछन् । जिल्लाबाहिर पठाउने पहुँचन हुँदा जिल्लामै सस्तो भाउमा सुन्तला बिक्री गर्न बाध्य छौ”–किसान रेखा बिकले भनिन । “सुन्तलाको वजार व्यवस्थापनमा स्थानीय सरकारले ध्यान नदिदा दुःख कष्ट गरेर सस्तो मूल्यमा यतै बिक्री गर्न वाध्य छौ”– विकले भनिन् ।
“चूनावको बेला किसानको समस्या हल गर्ने ठूलठूला आश्वासन दिएपनि चुनाव सकिएपछि कसैले हेर्दैनन्”– अर्की कृषक शर्मिला महराले भनिन् । “५ वर्ष अघिको स्थानीय तह निर्वाचनमा कोल्ड स्टोर वनाउने भनी भोट मागेका नेताहरुले यसपालि पनि त्यही कुरा दोहो¥याए तर कोल्ड स्टोर बनाउने तर्फ कसैको ध्यान छैन”– महराले भनिन् । सुन्तलाको सुरक्षित भण्डारणका लागि कोल्ड स्टोर जरुरी रहेको उनको भनाई छ ।
मेहनत गरेर फलाएको सन्तलाको न त भण्डारणको सुविधा छ न त जिल्लाबाहिर निर्यात गर्ने व्यवस्था । कडा परिश्रम गरेर बजार ल्याएको सुन्तलाको उचित मूल्य र बजार व्यवस्थापनको काममा स्थानीय सरकारले सहयोग गर्नुपर्ने किसानहरुको माग छ ।