© २०२३
क्रिकेटको खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको जर्सी सार्वजनिक गर्दै दोस्रो जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता २०७५ प्रतियोगिता आयोजना गर्ने क्लबले जानकारी गराएको हो ।
प्रतियोगिताको तयारी गरेको क्लबलाई भने खेलमैदानको चिन्ताले सताएको छ ।
कार्यक्रमका संयोजक राजेश थापाले देश भुकम्पको पिडामा रहेको बेला पहिलो संस्करण आयोजना गरेको बताए । पहिलो संस्करण गर्दा समेत मैदानको कारण धेरै समस्या ब्यवहोरेको उनले स्थाई संरचना खड्किएको बताए । खेल र खेलाडीको विकासमा आफुहरू लागेको भन्दै उनले केही ढिला गरि दोस्रो संस्करण आयोजना गर्ने भएको बताए । ‘यस क्षेत्रका खेलप्रेमी, खेलाडीहरू तथा स्थानिय संघसंस्थाहरूको सहयोगमा दोस्रो संस्करण संचालन गर्दै छौ ।’ –उनले भने । प्रतियोगितामा दुई दर्जन टिमले सहभागिता जनाउने पक्का भैसकेको उनले बताए ।
बुटवल उपमहानगरपालिका क्षेत्रमा क्रिकेट मैदानको अभाव रहदा प्रतियोगिता आयोजना कठिन भएको उनले दुखेसो गरे । एकमात्र बहुमुखी क्याम्पस मैदानमा प्रतियोगिता गर्न पटकपटक धेरै खर्च गर्नुपर्ने बाध्यताले आयोजकहरूलाई समस्या भएको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ३ का कार्यवाहक वडाअध्यक्ष चिन बहादुर गुरुङ्गले भैरहवा केन्द्रित क्रिकेट माहोललाई क्लबको पहलमा बुटवलमा शुरु गरिएको बताए । नेपालमा पछिल्लो समय बढेको क्रिकेटको क्रेजलाई मध्येनजर गरेर तीन तहकै सरकारले खेल पूर्वाधारलाई जोड दिएको उनको दाबी छ ।
यही असोज १३ गतेबाट प्रतियोगिता शुरु हुने क्लबका अध्यक्ष मच्छिन्द्र श्रेष्ठले बताए । बुटवल बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको उपाधि विजेताले कपसहित नगद एक लाख, प्रमाणपत्र, मेडल तथा उपविजेता टिमलाई कपसहित नगद ४५ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।
सामाजिक अभियन्ता मुक्तिराज पौडेलले एउटै खेलले नेपालको अन्तराष्ट्रिय पहिचान गराउने दाबी गर्दै क्रिकेट खेल र खेलाडीको विकासमा राजनीतिक दलबाटै पहल थाल्नुपर्ने बताए । नेपालको राजनीतिमा खेलको महत्व बुझने असल नेताको खाचो रहेको भन्दै उनले केवल खेलक्षेत्रमा राजनीतिक पहुचको भरमा पदमा लग्ने प्रवृति मुख्य समस्या रहेको बताए । कार्यक्रममा वडासदस्य लिला श्रेष्ठ, सरस्वती कुवँर, आनन्द भगत श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष विष्णु ढकालले प्रतियोगिता आयोजनामा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।