पाल्पा, १४ कात्तिक ।
तानसेन टक्सारका विकास नापित पुराना पत्रकार हुन् । उनलाई पत्रकार भन्दा झिनिया उद्यमी भनेर सबैले चिन्ने र जान्ने गर्छन् । पत्रकारको भन्दा झिनिया उद्यमी भन्न मन पराउने नापितले यो व्यवसाय सञ्चालन गरेको तिन दशक भन्दा बढी भयो । पत्रकारिता भन्दा यो पेशा तथा व्यवसायबाट बिना झन्झट आम्दानी गर्न बलियो माध्यम भएका कारण यो व्यवसायको थालनी गरेको उनी बताउँछन् ।
टक्सार टोलमा झिनिया उत्पादन गरी यसलाई आयआर्जनको मुख्य श्रोत बनाउने उनी संगै दर्जन भन्दा बढी उद्यमी रहेका छन् । यहाँ उत्पादन भएका झिनिया बुटवल, पोखरा, चितवन, काठमाडौं, नेपालगञ्ज सम्म यहाँका उद्यमीहरुले पठाउदै आएका छन् ।
पहिले पहिले मगर समुदायले मात्र भाइ टिकाको दिन खाने झिनिया नेवार समुदाय हुदै अन्य समुदायले विवाह तथा ब्रतवन्ध जस्ता मुख्य उत्सवहरुमा समेत सगुनको रुपमा खान थाले पछि यसको उत्पादन बिस्तार भएको छ ।
कम लगानीमा बढी उत्पादन लिन सकिने यो राम्रो व्यवसाय भएको र पछिल्ला दिनहरुमा बाह्रै महिना उत्पादन हुन लागेको छ । यहाको उत्पादन स्थानीय बजारदेखि बुटबल बजार सम्म पुग्ने गरेको माथागढी गाउँपालिका सराइका नवल श्रेष्ठ बताउछन् ।
पहिले पहिले घरयासी प्रयोजनका लागि घरेलु प्रविधिबाट तिहारलाई लक्षित गर्दै बनाउने गरेका झिनिया पछिल्लो समयमा नास्तादेखि विवाह उत्सव र पर्वहरुमा अनिवार्य जस्तै हुन लागेपछि आधुनिक मेसिनको प्रयोगबाट व्यावसायिक उत्पादन हुन लागेको उद्यमीहरु बताउछन् ।
विशेषगरी चामलको पिठोलाई पकाएर मेसिनमा राखेर बनाइने झिनीया विवाह, उत्सव,पर्वहरुमा अनिवार्य जस्तै हुन लागेपछि तानसेन नगर भन्दा बाहिर रामपुर नगर, माथगाढीको सराई , रुप्से वगनासकाली गाउँपालिकाको पोखराथोक, रभ्मा गाउँपालिकाको ताँहुमा स्थानीय महिलाहरुले व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । पुर्वी पाल्पाको मुख्य व्यापारीक केन्द्र ठानीने रामपुर नगरका झिनिया उद्यमी रुद्र नारायण श्रेष्ठले वार्षिक रुपमा २५ देखि ३० लाख आम्दानी गरेको बताउछन् । यही व्यवसायमा प्रत्यक्ष रुपमा ५ जना महिलाले रोजगारी समेत पाएका छन् । पुर्वी पाल्पा रामपुर नगरका उद्यमी श्रेष्ठ ग्राहकको माग अनुसार झिनीया पु¥याउन हम्मे हम्मे भएको र कुटीर उद्योग भित्र पर्ने यस व्यवसाय आफुले थालनी गरेपछि उद्यमी बनाएको बताउँछन् ।
महिलाहरुले घरयासी काम सकेर फुर्सदको समयलाई उपयोग गर्दै झिनीया बनाउदा राम्रो आम्दानी हुने गर्दछ । घरमा उत्पादन गरेको बस्तु आफैले घरैबाट बिक्री गर्न सकिने भएका कारण यस व्यवसायमा महिला बढी कृयाशील भएको तानसेनकी कल्पना श्रेष्ठ बताउँछिन् । पहिलेको तुलनामा पाल्पाली झिनीयाले काठमाडौ, पोखरा, चितवन सम्म झिनीया निर्यात गर्दै आएको छ । यहाँ बाह्रै महिना उत्पादन गर्नेको संख्या कम भएकाले बाहिरी जिल्लामा उत्पादित वस्तु पु¥याउन सकिएको छैन । यहाबाट झिनीया बनाउन सिकेर बाहिरी जिल्ला गुल्मी , स्याङ्जा, अर्घाखाँचीमा समेत झिनीया उत्पादन हुन लागेको छ । आयआर्जनको लागि बलियो माध्यम बनेको यस व्यवसायमा आधुनिक प्रविधीसंग जोड्न सकिए थप सफलता पाउने ताहुकी पार्वती कार्की बताउछिन् ।
तिहारको समयमा जिल्लाभरबाट १ करोडको कारोवार हुने गर्दछ । खान खुवाउन र तयार गर्न निकै सजिलो अनि राम्रो पनि देखिने भएकाले प्रत्येक वर्ष ५ देखि ७ सय रुपैया सम्मको झिनिया किन्ने गरेको वगनासकाली गाउपालिका खानीछापकी शशीकला दर्लामी बताउछिन् । आफु जस्तै छिमेकीले पनि बजारबाट झिनीया खरिद गरेको उनी बताउछिन् ।
तिनाउ गाउपािलका मस्यामकी वालकुमारी कार्की झिनीयाबिना तिहारै खल्लो जस्तो हुने आफ्नो अनुभव सुनाउँदै आफु झिनीया व्यापारी समेत भएका कारण भाइ टिकाको समयमा १ लाख रुपैया सम्मको व्यापार गरेको बताउँछिन् ।
रोटीको पर्वका रुपमा मनाइने तिहारलाई अन्य रोटीको तुलनामा यसलाई तयार गर्न पनि सजिलो र अन्य समयमा अतिथि सत्कारका रुपमा पनि प्रयोग गर्न सजिलो भएका कारण यसको प्रयोग बढेको हो । यसलाई उद्योगका रुपमा बिकास गर्न पाल्पा उद्योग वाणिज्य संघले ठाउ ठाउमा गएर तालिम उपलब्ध गराएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई बताउँछन् । राम्रो संभावना बोकेको झिनीयाका लागि स्थानीयदेखि प्रदेश सरकारले थप व्यावसायिक बनाउन पहल गरेको खण्डमा भोलिका दिनहरुमा यहाँको उत्पादनलाई विदेश निर्यात गरी विदेशी मुद्रा आयआर्जन गर्न सकिने र रोजगारीको बलियो माध्यम हुने उनी बताउँछन्